शुक्लागण्डकी–९ मा नेतृत्व विकास तालिम सम्पन्न

दुलेगौंडा– शुक्लागण्डकी नगरपालिका–९ का महिलालाई लक्षित गरेर नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा कार्यालयको आयोजनामा भएको ७ दिने नेतृत्व विकास तालिमको सोमबार समापन गरिएको छ ।

तालिम समापनमा बोल्दै शुक्लागण्डकीका उपमेयर खुमबहादुर विक ‘राजु’ ले नेतृत्व विकासका लागि ज्ञानसँगै कलाको आवश्यक पर्ने बताए । उनले भने, ‘नेता हुनलाई हिजोआज अर्थोपार्जनमा बढी जोडिनुपर्छ ।’ महिलालाई अग्रस्थानमा ल्याउनलाई नेतृत्व विकास तालिमले भूमिका खेल्ने उनको भनाइ थियो । तालिममा सहभागीलाई उनले समाज परीवर्तनका लागि सकरात्मक भूमिका खेल्न आग्रह गरे ।

कार्यपालिका सदस्य सुनिता सुनारले महिलालाई सीप सिकाएर सक्षम बनाउने अभियानमा रहेको बताइन् । चूलोचौकामा मात्रै सीमति नभएर समाज परीवर्तनमा लाग्नुपर्ने उनको भनाइ थियो ।

शुक्लागण्डकी नगरपालिका–९ की कार्यवहाक वडाध्यक्ष बुद्धिमाया गुरुङले सिकाईलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन । सिकाई निरन्तर चल्ने भएकाले सिक्नका लागि पछाडि नहट्न उनको अनुरोध छ ।

वडा सदस्य कमल थापाले आत्मविश्वासी बनेर अगाडि बढ्नुपर्ने बताए । व्यक्तिको क्षमतासँगै नेतृत्व विकास नभए समाजलाई परीवर्तन गर्न नसकिने उनले सुनाए ।

तालिममा सहभागी प्रशिक्षार्थी आयुष्का पराजुलीले तालिमको अन्त्यसँगै व्यवहारमा उतार्ने सुरुवात भएको बताइन् । तालिमले आत्मविश्वास जगाएको उनको भनाइ थियो । सिकाइ समाज रुपान्तरणमा प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

तालिममा सहभागी प्रशिक्षार्थी अमृता पोखरेल महत र युविका राउतले सञ्चालन गरेको कार्यक्रममा श्रीया लामीछाने, बृन्दा कार्की, आशिका कार्की, मधु श्रेष्ठ, आशिका कार्की, कल्पना क्षेत्री, नमूना बस्नेत, गिता तिम्लिसीना, सिर्जना सुनार लगायतले बोल्दै अब संघसंस्थाको नेतृत्व गर्नलाई पछाडि नहट्ने प्रतिबद्धता जनाए ।

तनहुँ खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक विनोद ढुंगानाले तालिममा सहभागीलाई सहजीकरण गरेका हुन् । उनले नेतृत्व विकास, भाषणकला, उद्घोषणकला, माइनुट लेखन, बैठक व्यवस्थापन, पदीय जिम्मेवारी, सामाजिक सञ्जालको प्रयोग लगायतको विषयमा सहजीकरण गरेका हुन् ।

चैत १८ गतेदेखि सुरु तालिममा वडाभरका ३० जना बढीको सहभागिता रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.