दुलेगौंडा– तनहुँको छिम्केश्वरी मन्दिरमा फागु पुर्णिमाको दिन दर्शानार्थीको भीड लागेको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको मन्दिरमा पुजाअर्चना र मेला भर्न आउने भक्तजनको भीड लागेको हो ।
बिहीबार ९ हजारको हाराहारीमा भक्तजन आएको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए । उनका अनुसार गत वर्षको फागु पूर्णिमाको दिन पनि ९ हजारकै हाराहारीमा भक्तजन आएका थिए । ‘यो पटक खासै घटबढ भएन । हामीले राखेको तथ्याङ्मा ९ हजारको हाराहारीमा पर्यटक आएका छन्’, उनले भने ।

फागु पुर्णिमाको मेला भर्नलाई तनहुँका विभिन्न स्थानसँगै गोरखा, लमजुङ, कास्की र चितवनबाटसमेत भक्तजन आएका थिए ।
विहानैदेखी साँझसम्म मन्दिरमा भक्तजनको निकै चहलपहल थियो । यहाँ भाकल गरेपछि मनोकांक्षा पूरा भएका दर्शनार्थी आउने गर्छन् ।
बिहीबार आएका भक्तजनले पुजापाठसँगै बोकाको बली दिए । मनोकांक्षा पूरा भएका भक्तजनले जोडी परेवा पनि उडाए ।
तनहुँकै सबैभन्दा अग्लो दुई हजार १३४ मिटर उचाइमा रहेको मन्दिरमा हरेक बर्ष फागु पुर्णिमा र बैशाखे पुर्णिमामा भक्तजनको विशेष भीड लाग्दछ । गोरखाको प्रसिद्ध मनकामना माइको जेठी दिदी बुढिकन्यादेवी माई र माइली दिदिको रुपमा चिनिने छिम्केश्वरी माईको मन्दिर छ । मनकामना दर्शन गरेकाले यहाँ दर्शन गर्नैपर्ने धार्मिक मान्यता रहदै आएको छ ।
पूर्वाधार विकास र प्रचारप्रसारले ओझेलमा परेको छिम्केश्वरी पछिल्ला वर्षहरुमा चहलपहल बढ्दैछ ।








