पोखरा
भारतीय अर्थशास्त्री महेन्द्र पी लामाले नेपालले भारत निर्यात वस्तुमा परिवर्तन गर्न आवश्यक रहेको सुझाएका छन् । उनले ७० वर्षदेखि भारत पठाउने निर्यातको डोकोमा एउटै वस्तु रहेको जिकिर गरे ।
‘अहिलेसम्म पनि आफ्नो निकासी निर्यात गर्नुहुन्छ नि जो डोकोभित्र लगभग त्यही कुुरा छ है । ७० वर्ष भो डोकोभित्र भारतमा पठाउने कुरमा केही पनि परिवर्तन देख्दिनँ’, सुझाव दिदै लामाले भने, ‘जस्तै बंगलादेश हेर्नुभो भने पहिला जुटको कार्पेट पठाउथ्यो । आज उनीहरुले जुुट छाडेर माछा, साडी र तयारी पोशाक पठाउँछ । भुटान हेर्नुहोस् अलिअलि खानी पठाउथ्यो सब छाडेर ज्यादा भारतमा पठाउने बिजुली हो । नेपालले गर्नै सकेन ।’
नेपाल भारत सम्बन्धलाई थप नरम बनाउनलाई लिटरेचर फेस्टिबल, सिनेमा, पर्यटन, खाना, शिक्षा, स्वास्थ्यमा सहकार्य गर्नुपर्नेमा उनको जोड छ । सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार लामाले भारत र नेपालबीचको सम्बन्ध अत्यन्तै गहिरो, ऐतिहासिक, पारस्परिक रहेको जिकिर गरे ।
पोखरामा जारी १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिबलको ‘यस्तो होस् नेपाल भारत सम्बन्ध’ विषयक सेशनमा बोल्दै लामाले साना घटनाले नेपाल भारतको सम्बन्धमा दरार नआउने बताएका छन् ।
‘एउटा सानो घटनाले नेपाल र भारतको सम्बन्ध विच्छेद हुन्छ । उतारचढाव आउँछ भन्ने खालको कुरामा हामी किञ्चित मात्रामा पनि विश्वास गर्दनौं’, अर्थशास्त्री लामाले थपे, ‘कारण, उतारचढाव पनि देख्यौं हामीले अनि व्यापक मित्रता पनि देख्यौं । गहिरो सम्बन्ध पनि देख्यौं यत्तिका वर्षहरुमा । दुइटै सरकारले एक अर्कालाई राम्रोसँग बुझ्छन् । नेपाल सरकारले भारतलाई बुझ्दैन भन्ने ठीक होइन । के गर्दाखेरि के हुन्छ राम्ररी बुझ्छन् ।’
नेपालले जलवायु परिवर्तनको बहसमा नेतृत्व गर्न सक्ने बताए । ‘विश्वको जलवायुु परिवर्तनको बहसमा प्रस्तुत गरेर जान सक्छ भने नेपालले सक्छ भनेर भनिन्छ । नेपाल सक्छ । नेतृत्व किन नलिने ?’, उनले भने, ‘जहिले हारेको सोंच, म तपाई भन्दा कमजोर सोंच होइन म पनि नेतृत्व दिन सक्छु । म पनि यो क्षेत्रमा निपूर्णता दिन सक्छु भन्ने सोंच गर्नुपर्छ ।’
नेपाल भारतको सम्बन्ध चार प्रकारको रहेको सुनाए । उनका अनुसार पहिलो सम्बन्ध सरकारबीचको सम्बन्ध । दोस्रो व्यापार वाणिज्य । तेस्रो नागरिक समाजको सम्बन्ध । चौंथो साधारण मान्छे (समुदायबीच) सम्बन्ध । ‘जबजब सरकारहरु सोच्छन् की हाम्रै सम्बन्ध हुनुपर्छ । तलका सम्बन्धलाई त्याग्नुपर्छ, नजरअन्दाका साथ यस्ता कुराहरु आउँछन्’, उनको भनाइ थियो, ‘सबैभन्दा सम्बन्धमा माथि आउनुपर्ने समुदाय–समुुदायबीच हो । सरकारले त्यो समुदायको सम्बन्धलाई अगाडि बढाउन भूमिका मात्रै खेल्नुपर्छ । त्यो नै हाम्रोका लागि ठूलो आशा, विश्वास र भरोसाको कुरो हो ।’
पत्रकार योगेश ढकालले सहजीकरण गरेको सेशसनमा बोल्दै अभिनेत्री मनीषा कोइरालाले दुई देशबीचको सम्बन्धमा विश्वास र सम्मान नभए बलियो नहुने तर्क पेश गरिन् ।
‘कुनै पनि सम्बन्धमा विश्वास र सम्मान भएन भने त्यो बलियो हुुदैन । साथीत्वमा र सम्बन्धमा । विश्वास र सम्मानलाई आधार बनाएर काम गर्नुपर्छ । र त्यो हामी आफू पनि विश्वासयोग्य बन्नुपर्छ’, उनले भनिन्, ‘हाम्रो पनि चरित्र बलियो हुनुपर्छ । ताकी अरुले हामीलाई विश्वास गर्न सकोस् । हाम्रो आत्मबल नै कमजोर भयो भने अरुले दबाउँछ, प्रयोग गर्छ ।’
आफूू भारतमा काम गर्दा कहिल्यै कसैले नहोच्याएको बताउँदै भारतीय उदार भएको बताइन् । सिर्जनशील काममार्फत नेपाल भारतको सम्बन्धलाई थप बलियो बनाउन सकिनेमा उनको जोड छ । ‘सिनेमा जगतमा मान्छेहरु अलि धेरै उदार हुन्छन् । त्यो कुरालाई लिएर अगाडि बढ्नुपर्छ । लिटरेचर फेस्टिबल हुँदा उहाँका मान्छेहरु बोलाउनुपर्ने थियो । अलिकति सम्बन्धहरु राम्रो राख्नुपर्छ सृजनशील क्षेत्रको माध्यमबाट ।’
उनले नेपालले छिमेकी मुलुकबाट फाइदा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् । छिमेमा गएर आफ्नो कुरा राख्न सक्ने नेतृत्वको अभाव रहेको उनको भनाइ थियो । विपी र महेन्द्रले चीनमा गएर सगरमाथा नेपाल छ भनेर भनेको स्मरण गर्दै मनीषा भन्छिन्, ‘त्यस्तो नेता चाहियो हामीलाई जसले आफ्नो कुरा राख्न सकोस् । त्यहाँ गएर झुक्ने होइन । अर्को मान्छेले पनि तपाईंको तौल कति छ भनेर हेरेको हुन्छ । तिमीलाई सानोतिनो गिफ्ट दिएर लिन सक्छ भने किन दिन्छ सगरमाथा ?’ हिचकिचाहटबिना सत्य बोल्न सक्ने चरित्रको नेता नेपाली राजनीतिमा खाँचो रहेको खुलाइन् ।
संवैधानिक राजसंस्था विपिको दृष्टिकोण भएको बताइन् । नेपाललाई स्थायित्वका लागि संवैधानिक राजसंस्थाको आवश्यकता छ भनेको कोइरालाको स्मरण थियो ।