सहकारीका म्यानेजरलाई कुट्ने वडाध्यक्ष श्रेष्ठसहित ५ जना प्रहरी खोरमा

दुलेगौंडा– सहकारीका प्रबन्धकलाई कुट्ने भीमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु ग्रैहेलाई कुट्न वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् ।

नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित श्रेष्ठकी श्रीमति लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट कर्जा लिइएको थियो । २८ लाख रुपैयाँ ऋण लिएकी श्रेष्ठकी श्रीमतिले सावा, ब्याज एकपटक पनि नतिरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले बताए । पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि नियमानुसार जग्गा लिलाम गरेको उनको भनाइ छ । कर्जा चुक्ता नगरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठ प्रबन्धक गैह्रेलाई कुटपिटमा उत्रिएका हुन् ।

पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापा बताउँछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.