पोखरा
अंग्रेजी नयाँ वर्षको छेकोमा पोखराको लेकसाइडमा सडक महोत्सव सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामा तान्नका निम्ति २६ औं संस्करणको सडक महोत्सव आयोजना गरिएको हो ।
रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको महोत्सवको शनिबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
उनले पोखरा पर्यटन विकासमा शिक्षा, स्वास्थ्य र खेलकुदको हब बनाउन बनाउनुपर्ने बताए । माइस टुरिज्मका लागि सम्मेलन केन्द्र निर्माण गर्नुपर्नेमा गुरुङको जोड रह्यो । पोखरा आउने सडक मार्गलाई स्तरोन्नती गर्न सके पोखरा आउने पर्यटकको संख्या बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘बुटवल, भरतपुर र काठमाडौंसँग एक्प्रेस रोडले जोडियो भने जहाज आयो कि आएन भनेर कुर्नुपर्दैन ।’ पर्यटकको आकर्षण बढाउन इभेन्टहरु भइरहनुपर्ने सञ्चारमन्त्री गुरुङले बताए ।
महोत्सवको उद्घाटनपूर्व लेकसाइडको खहरेदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीसहित ¥याली निकालियो । गण्डकीका विभिन्न जिल्लामा रहेका जातजातीको साँस्कृतिक झाँकीले पर्यटकलाई खुब लोभ्यायो । कौराहा, भजन चुड्कादेखि पञ्चेबाजाको धुनले लेकसाइडको सडकमा रौनक बढायो ।
एक दिनबाट सुरु भएको महोत्सव सन् १९९९ मा एकहप्तासम्म चलेको थियो । ‘मिलेनियम वर्ष’ का रुपमा पहिलो पटक सात दिनसम्म मनाइएको र त्यसयता ५ दिन महोत्सव मनाइँदै आइएको छ ।
‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ नाराका साथ आयोजित सडक महोत्सवले पर्यटकीय राजधानी पोखराको ब्राण्डिङ हुने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । महोत्सवमा लोपोन्मुख कला संस्कृति, मौलिक भेषभुषा, झाँकी प्रदर्शनसँगै प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, लाइभ कन्सर्ट, लोकदोहोरी मुख्य आकर्षण रहेका छन् ।
पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख आन्तरिक र बाह्य पर्यटक आउने आयोजकको दाबी छ । विशेषत अंग्रेजी नयाँ वर्षको सुरुवात गर्न हजारौं पर्यटक पोखरा आउने प्रचलन रहेको छ । २६ वर्षअघि सुरू पोखरा सडक महोत्सव अहिले त पोखरेली पर्यटनको ब्रान्ड बनेको छ । यो समयमा पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायीले रहातको महशुस गरेका छन् ।