दुलेगौंडा
स्तरोन्नतीको चरणमा रहेको पृथ्वी राजमार्गको तनहुँ खण्ड आजदेखि रातीको समयमा बन्द हुदैछ । पूर्वीखण्ड अन्तर्गत पर्ने छिर्कनदेखि देउरालीसम्म रातीको समयमा बन्द गरेर निर्माण कार्यलाई तिव्रता दिन लागिएको हो ।
आज रातीदेखि मंसिर २३ गतेसम्म सडक बन्द गरेर काम गरिनेछ । राति ११ बजेदेखी विहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माणको काम गरिने सूचना उल्लेख छ । विहान १ बजेदेखि साढे १ बजेसम्म सडक आवगमन खुल्ला गरिनेछ । यस्तै, दोस्रो चरणमा विहान साढे १ बजेबाट ४ बजेसम्म सडक बन्द गरी सडक निर्माण हुनेछ । त्यसपछि दिनैभर सडक पूर्ण रुपमा सूचारु हुनेछ ।
अत्यावश्यक सवारीवाहेक अन्य सवारी साधनका लागि उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहने जनाइएको छ । यो अवधिमा सवारी रोक्दा र सवारी चलाउदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नु आयोजनाले अनुरोध गरेको छ । सवारी लामवद्ध भएको अवस्थामा जथाभावी ओभरटेक गरे कडा कारबाही हुने सूचनामार्फत चेतावनी दिइएको हो ।
पृथ्वी राजमार्गको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०८१ बैशाखसम्म काम सक्ने सम्झौतामा उल्लेख भएपनि हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ । कोरोनाको असर देखाएर २०८१ फागुन १ गतेसम्मलाई म्याद थप भएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा विस्तार गर्न लागिएको सडक निर्माणको काम थपिएको मितिमा पनि सम्पन्न नहुने निश्चित छ ।
४१.४५ किलोमिटर दूरीको यो सडक खण्डमा ठेकेदार कम्पनीले हालसम्म ६३ किलोमिटर एकतर्फी सडक कालोपत्र गरेको छ ।