पोखरा
पोखरा सभागृहबाट ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’ भन्दै सुरु भएको पहिलो दिनको जेन–जी प्रदर्शनले मुख्यन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर उग्र रुप लियो । प्रर्दशनकारीले मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसँगै आगजनीको प्रयास गरे । प्रहरीले स्थिति नियन्त्रणमा लिनलाई गोली बर्षायो ।
पहिलो दिनमै निशाना बनाइएको मुख्यमन्त्रीको कार्यालय दोस्रो दिन प्रदर्शनकारीले आगो लगाए । मुख्यमन्त्री कार्यालयसँगै सामाजिक विकास, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आर्थिक मामिला, उद्योतथा पर्यटन, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा प्रदर्शनकारीले आगजनी गरे । मन्त्रालय मातहातका कार्यालयमा पनि तोडफोडमा उत्रिदै सामाग्री लुटेका छन् ।
प्रदेश सभाको कार्यालय, संसदीय समिति, संसदीय दलका कार्यालय, सचिवालय मात्रै नभइ पूराना राजनीतिक दलका नेताका घर खोजी खोजी जलाए । गण्डकी प्रदेश मातहातका मन्त्रालय र कार्यालयका झन्डै १६० चारपांग्रे र दुईपांग्रे सवारी जलेर क्षति भएको प्रारम्भिक तथ्याङक छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै मुख्यमन्त्री निवास जलेर क्षति भएको छ । मुख्यमन्त्री कार्यालयमै रहेको प्रदेश कितावखाना पूर्ण रुपमा जलेर नष्ट भएको थियो । अहिले सरसफाइ गरेर सेवा सुचारु भएको छ । मुख्यमन्त्री कार्यालयमा रहेका ७ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेको छ । चारपांग्रे सवारी भने नजिकैको प्रदेश प्रहरी कार्यालयमा लगेर सुरक्षित राखियो ।
प्रदेश नीति तथा योजना आयोगको ३ वटा गाडी र ४ वटा मोटरसाइकल जलेको छ । भवनको माथिल्लो तलामा रहेको कोठाबाट आधारभूत सेवा सञ्चालन गर्न सकिने अवस्थामा छ ।
वन तथा वातावरण मन्त्रालयको ४ र वन निर्देशनालयको १ गाडी जलेको छ । एउटा गाडी प्रर्दशनकारीले तोडफोड गरे । ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर जलेका छन् । मन्त्रालयबाट ल्यापटदेखि फ्रिजसम्म चोरी भयो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको ५ वटा गाडी जलेका छन् । १२ वटा दुईपांग्रे सवारी जले । मन्त्रालयको भवनमा अगजनी भएको थियो । मन्त्रालय मातहतमा रहेका सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा समेत तोडफोड हुदाँ क्षति भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको ६ वटा चारपांग्रे र २७ वटा दुईपांग्रे सवारी जलेको हो । मन्त्रालयको मातहामा रहेको शहरी विकास तथा भवन कार्यालय, पूर्वाधार विकास कार्यालय कास्कीमा तोडफोड र क्षति भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र र सवारी दुवै कार्यालय पूर्णरुपमा जलाइएको छ । ४ लाख ४२ हजार रुपैयाँ राजस्वको रकम हराएको जनाइएको छ ।
आर्थिक मामिला मन्त्रालयको ३ वटा चारपांग्रे र ६ वटा दुई पांग्रे जलेर खरानी भएका छन् । मन्त्रालयको भवनमा पनि तोडफोड भयो । आगजनिले आशिंक रुपमा जलेको छ । मन्त्रालयको ल्यापटप, कम्प्युटर, प्रिन्टर चोरी भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका चारपांग्रे र दुईपांग्रे सवारी १÷१ वटा जलेको छ ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ४ वटा, खानेपानी कार्यालय तनहुँ र जलस्रोत कार्यालय कास्कीको १÷१ वटा चारपांग्रे सवारी जलेका छन् । एउटा चारपांग्रे सवारीमा तोडफोड भएको छ । उर्जा मन्त्रालय मातहातका १८ वटा मोटरसाइकल पनि प्रदर्शनकारीले जलाइदिए ।
स्वास्थ्य मन्त्रालयको भौतिक संरचनामा क्षति नभएपनि ३ वटा स्कुटर जलेको तथ्याङ्क छ । पर्यटन तथा उद्योग मन्त्रालयका ४ वटा गाडी र ५ वटा मोटरसाइकल पूर्ण रुपमा जलेका छन् । निर्देशनालयको भवन जलेर पूर्ण क्षति भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा ४ वटा चारपांग्रे र ३ वटा मोटरसाइकल जलेका छन् । त्यहींबाट २ वटा कर्मचारीको नीजि मोटरसाइकल पनि प्रदर्शनकारीले जलाइदिएका हुन् । प्रदेश प्रमुखको निवास पूर्ण रुपमा जलेको छ ।
प्रदेश लोक सेवा आयोगको ४ वटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी जलेका छन् । २९ लाख रुपैयाँ बराबरको क्षति भएको आँकलन कार्यालयले गरेको हो ।
गण्डकी प्रदेश सभा भवन, प्रदेश सभा सचिवालय, चारै दलको संसदीय कार्यालय, समितिका कार्यालय, आवास भवन, पुस्कालय सबै जलेर खरानी भएको छ । प्रदेश सभाका ६ वटा चारपांग्रे र १२ वटा दुईपांग्रे सवारी जलेका छन् । प्रदर्शनकारीले ३९ वटा डेस्कटप कम्प्युटर, ९९ थान ल्यापटप जलेका छन् । प्रदेश सभाको प्रत्यक्ष प्रसारणमा प्रयोग गरिने ५ वटा भिडियो क्यामेरा, डिजिटल क्यामेरा ४ वटा जलेका छन् । ४४ वटा एसि पनि जलेर नष्ट भएको प्रारिम्भक तथ्याङ्क छ ।