दुलेगौंडा । कम्प्युटर एशोसियसन नेपाल महासंघ तनहुँ र आदिकवि भानुभक्त क्याम्पस दमौलीले आयोजना गरेको जिल्लस्तरीय कम्प्युटर टाइपिङ प्रतियोगितामा खैरेनीटारकी मनिला अधिकारी प्रथम भएकी छिन् ।
जिल्लाभरबाट सहभागी ६७ जना प्रतिष्पर्धीलाई पछि पार्दै मनिला प्रथम हुन सफल भएकी हुन् । उनी खैरेनी माविबाट एसईई दिएर सोनी कम्प्युटर खैरेनीटारमा कम्प्युटर सिकीरहेकी छिन् । प्रथम भएकी मलिनाले १५ मिनेटमा ३०७ शब्द टाइपिङ गरेकी थिइन् । प्रतियोगितामा विग कम्प्युटर दमौलीका समिर रोका द्धितीय भए भने गोल्डेन कम्प्युटर दमौलीकी निशा आचार्य तेस्रो भइन् । प्रतियोगितामा एसइई दिएर कम्प्युटर सिक्दै गरेका विद्यार्थीबीच प्रतिष्पर्धा गराइएको हो ।
विजयी प्रतियोगिहरूलाई क्यानले नगद पुरस्कारसहित प्रमाणपत्र र कम्प्युटर कोर्षमा शत प्रतिशत छात्रावृतिको व्यवस्था मिलाएको छ । साथै, अन्य उत्कृष्ट ५ सहभागीलाई पनि कम्प्युटर कोर्षमा शत प्रतिशत र १५ जनालाई ५० प्रतिशत छात्रावृति प्रदान गरेको छ ।
सो अवसरमा जिल्लाभरका क्यानमा आवद्ध कम्प्युटर इन्स्टिच्युडमा विभिन्न कोर्ष सिकेका ४५० जना विद्यार्थीहरूको परिक्षा लिइएको थियो । आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले करियर काउन्सेलिङ सम्वन्धि विषयमा विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।
क्यान तनहुँको अध्यक्ष विश्वप्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने र क्यान महासंघका केन्द्रीय सदस्य तुलसीराम पाण्डे लगायतले बोलेका थिए ।