तनहुँ खबर

जंकफुड ः स्वादिलो तर किन खान हुदैँन ?

बालबच्चालाई फकाउन होस् वा मुखको स्वाद फेर्न । झटपट पेट भर्न होस् वा सजिलै छाक टार्न । हाम्रा लागि तयार छन् थरीथरी खानेकुरा । चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, चाउचाउ, चाउमिन, मःम, पिज्जा, समोसा कति छन् कति । सजिलै पाइने, जहाँ पनि पाइने र स्वादिलो पनि हुने । तर स्वास्थ्यविद्हरु सचेत गराउँछन्, ‘यस्ता खानेकुरा हुन्न ।’

किन ?
‘किनभने यी जंकफुड हुन् ।’ यी खानेकुरा स्वस्थ्यवर्द्धक होइनन् ? किन यी खानेकुरालाई जंकफुड भनिएको हो ? खासमा जंकफुड के हो ? कम स्वस्थकर प्याकेट बन्द प्रशोधित खानेकुरालाई आम भाषामा बुझाउन ‘जंकफुड’ भनिएको हो । यसको अर्थ उक्त खानेकुरा कम पोषकतत्व भएको, कम गुणस्तरको र कम स्वस्थकर हो ।

किन मीठो लाग्छ ?
यस्तो खानेकुरालाई स्वस्थकरभन्दा पनि स्वादिलो बनाउने प्रयास गरिएको हुन्छ । त्यसैले स्वाद बढाउनका लागि विभिन्न रसायन प्रयोग गरिन्छ । त्यही रसायनका कारण हामीलाई यस्तो खानेकुराको तलतल लागिरहन्छ । लेज, कुरकुरे, चाउचाउ, बिस्कुटजस्ता कुनै पनि खानेकुरा प्रशोधन गर्दा त्यसलाई लामो समय टिकाउन र स्वादिलो बनाउन रसायन मिसाइन्छ, जुन स्वस्थ्यवर्द्धक हुँदैन । यी खानेकुरालाई नै हामीले समग्रमा ‘जंकफुड’ भन्ने गर्छौं । खासमा यी प्रशोधित र प्याकेटबन्द खानेकुरा हुन् ।

किन जंकफुड भनिएको ?
प्याकेटबन्द वा प्रशोधित खानालाई पोषण अभियन्ताहरुले ‘जंकफुड’ नाम दिएका हुन् । खासगरी मान्छेलाई प्राकृतिक खानामा जोड दिन र प्रशोधित खाना न्यूनीकरण गर्ने ध्येयले यसो गरिएको हो । यद्यपि यी खानेकुरा ‘जंकफुड’ भन्दा पनि कम गुणस्तरका हुन् ।

किन हानिकारक ?
यस्ता खानेकुरामा प्रशस्त मात्रामा फ्याट, सुगर र साल्ट (चिल्लो, चिनी र नुन) हुन्छ । तर मानिसका लागि चाहिने फाइबर, प्रोटिन, भिटामिन र मिनरलजस्ता पोषक तत्त्व पाइँदैन । पोषणयुक्त खानेकुरा खाँदा विभिन्न रोगबाट बच्न सकिन्छ । तर जब खानेकुरा गुणस्तरहीन र पोषक तत्त्व कम भएको हुन्छ, त्यसले पेट भर्छ तर पोषकतत्वको आपूर्ति हुँदैन । यसले गर्दा मोटोपन बढ्ने, पेटको रोग लाग्नेदेखि अनेक समस्या पैदा गर्छ । जंकफुडको नियमित सेवनले शरीरमा अतिरिक्त बोसो, सामान्य कार्बोहाइड्रेट र प्रशोधित चिनीको मात्रा बढाउँछ । यसैको कारण मोटोपन र मुटुको रोगको भय हुन्छ । यो कुपोषण र मोटोपन दुवैका लागि जिम्मेवार मानिन्छ । रङ, रसायन र टेस्टमेकर राखेर बनाइने यस्ता खानेकुराले दीर्घकालमा शारीरिक र मानसिक असर पनि गर्छ ।

जंकफुड खाँदा तौल किन बढ्छ ?
कम पौष्टिक तत्त्व, असन्तुलित पोषक तत्त्व, उच्च क्यालोरी, बारबार प्रशोधन गरी प्राकृतिक गुण नष्ट गरिएको, रेसा र चोकर झिकिएको र अखाद्य वस्तु समेत मिसावट गरिएको हुँदा यी खानेकुराको सेवनले तौल बढ्छ । यस्ता प्याकेट बन्द खानेकुरामा सोडियमको मात्रा पनि धेरै हुन्छ, जसले शरीरमा पानीको मात्रा बढी हुने गर्छ, जसका कारण शरीरमा अतिरिक्त वजन बढ्ने गर्छ । साथै उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा फ्याटको मात्रालाई समेत बढाउने गर्छ, जसका कारण शरीरको वजन बढ्छ ।

स्वस्थकर नभए पनि किन बिक्री गरिन्छ ?
धुम्रपान हाम्रो स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । तैपनि बजारमा चुरोट बिक्री हुन्छ र मान्छेले धुम्रपान गर्छन् पनि । त्यस्तै जंकफुड पनि स्वास्थ्यको लागि हानिकारक हो । तर सीमित मात्रामा एक महिनामा एक पटक खायो भने यसले खासै नकारात्मक असर गर्दैन । दैनिक रूपमा धेरै मात्रामा खायो भने मात्र हानिकारक हुन सक्छ । कतै जाँदा खाना बनाएर खान सम्भव हुँदैन, कुनै प्राकृतिक प्रकोप गएर खानाको अभाव छ भने त्यस्तो अवस्थामा यस्ता प्याकेट बन्द खानेकुरा उपयोगी हुन्छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!