१ असार, काठमाडौं । आगामी आइतबारदेखि सुरु हुने क्रिकेट विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला जिम्बाव्वेमा छ । लिग टु को पछिल्लो सफलता र एसिया कपमा छनोट भएपछि उच्च मनोबलमा रहेको नेपाली टोलीले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेर जिम्बाव्वे पुगेको हो । दक्षिण अफ्रिकामा खेलेका तीनवटै अभ्यास खेलमा पराजित भएको नेपालले जिम्बाव्वेमा यूएईसँगको खेल हारेको छ भने ओमानसँगको खेल जितेको छ । अब मुख्य प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो होला भन्ने सबैलाई चासो छ । नेपालले विश्वकप छनौटमा पूर्वविजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्बाव्वेसँग कस्तो खेल्ला भने चासो सबैलाई छ । नेपालकै समूहमा रहेका एसोसिएट राष्ट्र नेदरल्याण्ड्स र अमेरिका भने नेपालका लिग चीर परिचित टिम हुन् ।
अर्को समूहमा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा प्रवेश गर्नेछन् । सुपर सिक्समा शीर्ष २ मा रहने टोलीले भारतमा हुने विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्ने छन् । नेपालले ३ असारमा जिम्बावेसँग खेल्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ । यस्तै ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इन्डिज र ९ असार मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालको सबै खेल हरारे शहरमा हुनेछ । सुपर सिक्समा पुग्दन नेपाललाइ समूहमा शीर्ष तीनमा रहनु पर्ने छ । सुपर सिक्समा अर्को समूहबाट आएका तीन टिमसँग थप ३ खेल खेल्न पाउनेछ ।
जिम्बाव्वेसँग नेपालको हेट डु हेड
नेपालले जिम्बाव्वेसँग पाँच वर्षपछि पहिलो पटक ५० ओभरको क्रिकेट खेल्न लागेको हो भने ओडीआई मान्यता प्राप्त पहिलो । यसअघि सन् २०१८ मार्चमा जिम्बाव्वेमै भएको विश्वकप छनोटमा नेपालले जिम्बाव्वेसँग खेलेको थियो । त्यसबेला नेपालको ओडीआई मान्यता थिएन । त्यही छनोटमा एसोसिएटतर्फ शीर्ष तीन टिमभित्र परेपछि मात्रै नेपालले पहिलो पटक ओडीआई मान्यता प्राप्त गरेको थियो ।
त्यसको पाँच वर्षपछि जिम्बाव्वे भ्रमणमा जाँदा भने नेपालले ओडीआई मान्यता कायम राख्न सफल भएको छ । २०१८ मा भएको छनोटमा नेपाल जिम्बाव्वेसँग ११६ रनले पराजित भएको थियो । ब्रेन्डन टेलर र सिकन्दर राजाको शतकमा जिम्बाव्वेले पहिले ब्याटिङ गर्दै ३८० रन बनाएको थियो । जवाफमा नेपालले पूरै ५० ओभर खेल्दा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो ।