काठमाडौँ । सरकारले स्वास्थ्य उपचारका लागी अतिआवश्यक सम्पूणर् औषधी नेपालमै उत्पादन गरी नेपाललाई औषधीमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । तर, पछिल्लो समय नेपालमै उत्पादन हुने औषधी पनि आयात हँदा आत्मनिर्भरताको लक्ष्य पुरा हुन मस्किल हुने देखिएको छ । यस विषयमा बेलाबखतमा बहस पनि हुने गरेका छन् तर, नितिगत पक्ष निकै कमजोर हुँदा स्वदेशी उत्पादन ओझोलमा परेको गुनासो बढ्दो छ ।
नेपाली औषधी उद्योगले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्दै आएका छन् । स्वास्थ्य उपचारका लागी आवश्यक पर्ने अधिकांस औषधी स्वदेशमा नै उत्पादन गर्नूका साथै निर्यात पनि गर्न सक्ने क्षमता नेपाली औषधी उद्योगहरु रहेको नेपाल औषधी उत्पादक संघको भनाई छ । आइतबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरको नेपाली औषधी उद्योगको विकास र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा औषधि उत्पादनको क्षेत्रमा नेपाल अब्बल रहेको औषधी व्यवसायीले बताएका छन् । नेपाल औषधी उत्पादक संघले सरकारले सहयोग गरेको खण्डमा नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने दाबी गरेको छ । स्वदेशी उत्पादनलाई प्रथमिकता दिन सरकारको तर्फबाट कुनैपनि काम नभएको नेपाल औषधी उत्पादक संघका पूर्व अध्यक्ष दिपक दाहलको भनाइ छ ।
औषधी नीति २०५१ ले १० वर्षभित्रमा ८० प्रतिशत औषधी स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर औषधी उत्पादन, आयात तथा निर्यातका पक्षमा बनेका निति तथा कानुन कार्यन्वयन नहुँदा स्वदेशी उत्पादनले गति लिन नसकेको उत्पादकको बुझाइ छ । कार्यक्रममा सहभागि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली औषधी उद्योगलाई गुणस्तरीय बनाउनुका साथै संरक्षण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न मन्त्रालय सदैव तत्पर रहेको बताए । केही वर्ष अघिसम्म पनि नेपालमै औषधी बन्छ र भन्ने प्रश्न आउने गरेको थियो । तर, पछिल्लो समय नेपाल केही औषधी निर्यात समेत गर्न सक्ने अवस्थामा पुगेको छ । यस्तो सफलतालाई निरन्तरता दिन सरकारले उचित सहयोगका साथै नीतिगत पक्षमा सहजिकरण गरे मुलुक आत्मनिर्भरता तर्फ जाने बाटो खुल्नेछ ।