पोखरा
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी रकम ठगीको आरोपमा पक्राउ परेका रवि लामीछानेलाई भेटेका छन् । शुक्रबार विहान कास्की प्रहरीको हिरासतमा पुगेर भट्टराईले लामीछानेलाई भेटेका हुन् ।
केहीबेर रविसँग कुराकानी गरेर फर्किएका स्वास्थ्य अवस्थाबारे बुझेको बताए । कुराकानीमा रविले आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताएको भट्टराईले उल्लेख गरे ।
‘म माथी राजनीतिक प्रतिशोध लिइएको हो । मैले त सहयोग गरिराख्याछु, गर्छु । त्यसको बाबजुद पनि जे भइराख्याछ यो सन्देश बाहिर पुगोस् भन्ने कुरा उहाँले गर्नुभाछ’, डा. भट्टराईले भने।
भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै रविलाई दुख दिने काम भइरहेको प्रतिक्रिया दिएका छन् । अन्यायपूर्ण व्यवहार भएकाले ऐक्यवद्धता जनाउन हिरासतमा पुगेर रविलाई भेटेको भट्टराईको भनाइ छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. भट्टराईले राज्यले लामीछानेलाई गरेको व्यवहार प्रतिशोधपूर्ण रहेको उल्लेख गरे । ‘सहकारी सम्बन्धि जुन समस्या छ त्यसको जरो धेरै फैलियाछ । जो जस्ले सत्तामा पटकपटक रहेका थिए ३० वर्षदेखि पालैपालो । मुख्यत तीन दलका तीन्टा नेताहरु सत्तामा बसिराख्याछन् तीनकै वरिपरी बढी अपचलन भैराख्याछ’, उनले भने, ‘त्यसको समस्या हल नगर्ने हो भने ५० औं लाख साना बचतकर्ताहरु मर्कामा प¥याछन् । पहिला तिनको समाधान हुनुप¥यो । अहिले यो कुरालाई अल्झाइराख्ने र ती कुरालाई विषयान्तर हुने त होइन ?’
कानुन संविधानलाई मान्नुपर्ने जिकिर गर्दै राजनीतिक प्रतिशोधले पीडितको समस्या समाधान नहुने डा. भट्टराईको भनाइ थियो । तीन दलले जनतलाई ठग्ने र आफ्ना प्रतिस्पर्धीलाई तर्साइरहेको उनको आरोप छ । देशलाई बर्बादीतर्फ लैजाने चिन्ता रहेको उनले सुनाए ।