पोखरा
पोखरामा पर्वतीय समस्या र समाधान खोज्ने महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले महोत्सव गर्न लागेको हो ।
मंसिर २३ देखि २७ गतेसम्म नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा मिलेर महोत्सव गर्दैछन् ।
महोत्सव अवधिभर दैनिक अन्तरक्रियासँगै साहसिक गतिविधि सञ्चालन गरिनेछ । संग्रहालयको सभाहलमा दैनिक अन्तरक्रिया र परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ हुनेछ ।
पर्वतारोहण संघका सल्लाहकार डा. गणेश गुरुङले पर्वतीय महोत्सव पृथक र विशिष्ट रहेको बताए । ‘पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता विषयमा रुचि राख्नेहरु प्राथमिकतामा छन् । हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौं’, उनले सुनाए ।
भमहोत्सवभर ५० हजार जनाले अवलोकन गर्ने आयोजककोे अपेक्षा छ । महोत्सवको पहिलो दिनमा पर्वतीय जीवन, अनुकूलन र भविष्यबारे अन्तरक्रिया हुनेछ ।
दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरु सुनिनेछन् । तेस्रो दिन पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तक्रिया हुनेछ ।
चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ भने अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुबारे बिमर्श गरिनेछ ।
महोत्सवले पर्वतीय क्षेत्रमा बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्र्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्ने अपेक्षा गरिएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यापानेले बताइन् । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।
महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताए । ।