पोखरा
गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा भएको निर्वाचनमा ६१.७० प्रतिशत मत खसेको छ ।
विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा १ हजार ३७३ मतदाताले मत दिएका हुन् । गोरखा नगरपालिका–५ गण्डकी प्रदेशमा उपनिर्वाचन भइरहेको एकमात्र स्थान हो ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाका अनुसार गोरखा–५ मा दुई हजार २२५ मतदाता थिए ।
गोरखकाली आधारभूत विद्यालयमा ७२४ मतदाता रहेकोमा ४५८ जनाले मतदान गरे । शिवशक्ति आधारभूत विद्यालयको दुई मतदान केन्द्रका १ हजार ५०१ मध्य ९१५ जनाले वडाध्यक्ष चयन गर्न आफ्नो मत खसालेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना गर्न सर्वदलीय बैठक बोलाएको छ । बैठक सकाएर गणना सुरु हुनेछ ।
गोरखा–५ को वडाध्यक्ष बन्नलाई चुनावी मैदानमा ९ जना छन् । वडाध्यक्ष निर्वाचित हुने दौडमा नेकपा एमालेको तर्फबाट दुर्गामाया थापा, नेपाली कांग्रेसबाट भाइकाजी आले र नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबका कल्पना राना, नेपाल समाजवादी पार्टीका रुपेश मगराती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुपसिंह राना, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङ पनि चुनावी मैदानमा होमिएका छन् ।
२०७९ मा स्थानीय तह निर्वाचनमा यो वडामा नेकपा एमालेका खिलबहादुर रानाले वडाध्यक्षमा जितेका थिए । रानाको २०७९ साल कात्तिक १० गते निधन भएपछि उपनिर्वाचन भएको हो ।