दुलेगौंडा
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ ।
अधिवेशनको तयारी पूरा भएको नगर समितिका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
मंगलबार विहान ११ बजेपछि नगर सम्मेलन सुरु हुनेछ । उद्घाटनपूर्व शुक्लागण्डकी नगरपालिका गेटदेखि विपीचोकसम्म विरोध ¥याली निकालिनेछ । नेवार समाज हलमा पुगेर खबरदारी सभामा परिणत हुने अध्यक्ष गुरुङले बताए ।
खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन् ।
दोस्रो नगर सम्मेलनले सात पदाधिकारीसहितको ५५ सदस्यीय नगर समिति निर्वाचित गर्नेछ । नगर समिति चयनका लागि १२ वडाबाट १५१ जना प्रतिनिधि सहभागी हुनेछन् ।
नगर समितिको अध्यक्षमा वाइसिएल नेता शरण सापकोटालाई सर्वसम्मत बनाउने तयारी छ । हालका अध्यक्ष मनराज गुरुङ, शरण सापकोटा, रामचन्द्र भण्डारी र राजन खत्रीले अध्यक्षमा दाबी गरेका थिए ।
स्रोतका अनुसार अघिल्लो नगर सम्मेलनमा अध्यक्षमा पराजित सापकोटालाई अध्यक्ष बनाउने आन्तरिक सहमति बनेको हो ।