दुलेगौंडा
लेखनाथ महोत्सवको तयारी थालिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ गतदेखि माघ १ गतेसम्म महोत्सवको मिति उद्घोष गर्दै तयारी थालेको हो ।
२० औं संस्करणको महोत्सवका लागि सोमबारदेखि स्टल बुकिङसमेत खुला गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघका सदस्यलाई बुकिङ खुला गरेको महासचिव जानुका पराजुली अधिकारीले बताइन् । सदस्यका लागि स्टलमा २० प्रतिशत छुट दिएको उनको भनाइ छ । ‘सामान ढुवानीका लागि थप दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ’, उनले भनिन् ।
महोत्सवमा अटो, शैक्षिक/ग्रामिण प्रविधि, कृषि, किचनका सामाग्री, मेशनरी, हस्तकला, गार्मेन्ट, बैंक, डेरी, नेपाली उत्पादन, खाना लगायतका गरेर ३३६ स्टल रहनेछ । लेखनाथ उद्योग वाणिज्य संघ बाहिरका व्यवसायीलाई मंसिर २४ गतेदेखि मात्रै स्टल बुकिङ खुला रहने महासचिव पराजुलीले जानकारी दिइन् ।
पोखरा महानगरपालिका–२७ डाँडाकोनाकमा हुने महोत्सवका आकर्षणमा औद्योगिक व्यपार मेला, हस्तकलाका सामग्री, दैनिक उपभोग्य एवं खाद्यान्नका सामग्री, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामाग्री विद्युतीय उपकरण, फर्निच, भान्छामा प्रयोग हुने सामाग्री रहेका छन् ।
स्थानीय कृषि, औद्योगिक उत्पादनको प्रवद्र्धन हस्तकला, लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको बजारीकरण महोत्सवको उदेश्य रहेको महासचिव पराजुलीले बताइन् । ‘जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक र वाह्य पर्यटक प्रबद्र्धन गर्ने प्रयासमा छौं’, उनले भनिन् ।
लेखनाथ महोत्सव २०५१ र २०६० सालमा सुन्तला प्रदर्शनीबाट सुरुआत भएको थियो । २०६१ सालमा लेखनाथ महोत्सव भयो । त्यसपछि महोत्सवले निरन्तरता पाइरहेको छ । लेखनाथ महोत्सव दर्शक र व्यपारको दृष्टिले गण्डकीकै ठूलो मानिन्छ ।
महोत्सवले सुस्ताएको अर्थतन्त्र उकास्न महोत्सवले सघाउने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बताए । ‘पर्यटनलाई जोडेर कसरी लेखनाथ क्षेत्रलाई उकास्न सकिन्छ भनेर लागिरहेका छौं’, उनले भने ।