पोखरा
मोदीखोला माथिको छंगाछुर भीर । जहाँ भीर मौरीले बडो मेहनतका फूलका रस बटुलेर चाका बनाएका छन् ।
मर्दी र अन्नपूर्ण आधार शिविर पदमार्गको रुटमा पर्ने कास्कीको लान्द्रुक गाउँको मूनि रहेको कोटेसाङको भीरमा त्यही मह काँढेर उत्सव मनाइदैछ ।
पर्यटकलाई डाक्न कास्कीको अन्नपुर्ण गाउँपालिका–७ लान्द्रुकमा मंसिर २२ देखि २४ गतेसम्म उत्सव मनाउन लागेका हुन् ।
कोटोसाङको २२ घारमा मह काँढ्ने लान्द्रुक हनि हन्टिङ महोत्सव समितिका अध्यक्ष सुरेश गुरुङले बताए । ‘पर्यटकलाई लक्षित गरेर महोत्सव गर्दैछौं’, उनले भने ‘हनि हन्टिङले स्वदेशी विदेशी पर्यटकलाई आकर्षित गर्ने विश्वास छ ।’
स्थानीय मह सिकारीका अनुसार वर्षमा तीन पटकसम्म भीरमौरीको सिकार हुन्छ । मंसिर, फागुन र जेठमा मह काँढ्ने गरिन्छ । यो सिजनको मह बढी बाक्लो हुन्छ । भीरमौरीको मह लिटरको तीन हजार रुपैयाँमा खोसाखोस हुने गरेको छ ।
हनि हन्टिङ महोत्सवमा साविक वडास्तरीय पुरुष भलिबल र कोटेसाङ भीरमा मह शिकार मुख्य आकार्षण रहेको छ ।
साविक वडास्तरीय पुरुष भलिबलको विजेताले ७० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
लान्द्रुकमा पछिल्ला वर्षमा मह सिकार (हनि हन्टिङ) लाई उत्सवकै रुपमा मनाइन्छ ।