पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पाएको म्याद सकिएपछी अदालतमा उपस्थित गराइदैछ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले लामीछानेलाई चौंथो पटक म्याद थपका लागि अदालत पेश गर्न लागेको हो ।
सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक कार्तिक २० गते अदालत पेश गरिएको थियो । त्यो दिन प्रहरीले कार्तिक १४ गतेदेखी लागू हुने गरेर १० दिन हिरासतमा राखेरअनुसन्धान गर्ने म्याद पाएकोमा सकिएको छ ।
रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिनेछ । उनिहरु सबैलाई हिरासतमा राख्ने १० दिनकै म्याद दिएको थियो।
रविलाई अदालतमा पेश गर्ने भएपछी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले विहान १० बजे पोखराको जिरोकिलोमिटरमा रहेको पार्टी कार्यालयमा भेला हुन नेता कार्यकर्तालाई आह्वान गरेको छ । जिरोकिलोमिटरबाट सृजनाचोक, रत्नचोक हुदैं वाइचोकमा पुगेर विरोध सभा गर्ने तयारी छ ।
यसअघि कात्तिक २० गते म्याद थपका लागि रविलाई अदालत पेश गर्दा दिनभर जसो पोखरा तनावग्रस्त बनेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिनुका साथैं रिपोर्टिङमा पुगेका पत्रकारमाथि कुटपिटमा प्रहरी उत्रिएको थियो ।