पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अदालतमा उपस्थित गराइएको छ ।
केहिबेर पहिले जिल्ला प्रहरी कार्यालय कास्कीले लामीछानेलाई जिल्ला अदालत कास्की ल्याएको हो ।
उनलाई चौंथो पटक म्याद थपका लागि अदालत पेश गरिदैछ । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक कार्तिक २० गते अदालत पेश गरिएको थियो । त्यो दिन प्रहरीले कार्तिक १४ गतेदेखी लागू हुने गरेर १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएकोमा सकिएको छ ।
रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालतमा लगिदैछ ।