पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गर्ने काम नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् ।
सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुर्ने उनको भनाइ छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार आयोजना गरेको समिक्षा कार्यक्रममा उनले भने ,‘प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार छ ।’काम छिटो गर्न र गुणस्तरमा पनि ध्यान दिन कार्यालय प्रमुखलाई उनको निर्देशन छ ।
चालु आर्थिक वर्ष कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार बिकास अनन्तर्गत विनियोजन भएको छ । प्रदेश स्थापनाको यो अवधी सम्म ७५ अर्व रुपैयाँ भौतिक पूर्वाधारको क्षेत्रमा खर्च भएको र यसबाट ६९६ किलोमिटर सडक ग्राबेल भएको छ । ९०१ किलोमिटर ब्ल्याक टप कालोपत्रे, १०३ वटा पूल निर्माण भएको मुख्यमन्त्री पाण्डेले जानकारी गराए ।
‘प्रदेश सरकारले गरेको कामबाट नागरिकले सहज सेवा पाएका छन्’, मुख्यमन्त्री पाण्डेले थप्छन्,‘प्रदेश स्थापनापछि विकासको गति बढेको छ ।’
संघ सरकारबाट प्राप्त हुनपर्ने अनुदान घट्दा काम भएका योजनामा बजेट अभाव रहेको उनले बताए । गत वर्ष संघ सरकारले करिब २ अर्व अनुदान नपठाएको उनको भनाइ थियो । गत वर्षको अनुदान नआउँदा अहिले पनि गण्डकी प्रदेश सरकारलाई ३ अर्वको दायित्व रहेको उनले सुनाए ।
पूर्वाधार बिकास अन्र्तगत उपलब्धी नदेखिने साना टुक्रे योजना हटाएको प्रदेश सरकारलाई संघ सरकारले ५÷१० लाखको योजना पठाएको बताउँदै मुख्यमन्त्री पाण्डेले त्यस्ता योजना कार्यान्वयन गर्न नसकिने जवाफ दिएका छन् ।