NEWS
बुटवलमा बन्दैछ ‘मिनी फेवा ताल’

१ साउन, बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्रभित्र ‘मिनी फेवाताल’ बन्दै छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बुटवलभित्र प्राकृतिक सिमसार क्षेत्र पनि छ भन्ने कतिपय बुटवलबासीलाई नै थाहा छैन ।
बुटवल उपमहानगरपालिकाले बुटवल वडा नंं. १६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘मिनी फेवा ताल’का रुपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।
साविकको सेमलार गाविस वडा नंं. ५ र ६ मा रहेको प्राचीन कपरकट्टी ताललाई उपमहानगरपालिकाले नजिकै रहेको नरैनापूर धामसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अगाडि सारेको हो ।
प्राकृतिकरुपमा बनेको कपरकट्टीताल करिब १५ बिघा सिमसार क्षेत्रफलमध्ये एक किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको छ । तालको गहिराई करिब ५ मिटर छ ।
नील दहका नामले चिनिने झण्डै सय वर्ष पुरानो भए पनि राज्यका सम्बन्धित निकायको उचित ध्यान नपुगेको यो ताललाई उपमहानगरपालिकाले अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्न र पर्यटकीय विकासका लागि गुरुयोजना बनाउन शुरु गरेको वडा नंं १६ का अध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए ।
