जनप्रतिनिधिको १ वर्ष, नागरिकको गुनासै गुनासो
Tanahun Khabar DailyNEWS
जेठ २३ दुलगौडा
शुक्लागण्डकी नगरपालिका वडा न ९ का जनप्रतिनिधिकहरुले सोचे अनुरुपको काम नगरेको वडाबासीहरुले गुनासो गरेको छन् । मंगलबार वडा कार्यालयमा आयोजना गरिएको निर्वाचन पछिको १ वर्षे अनुभव, समिक्षा, उपलब्धी, र भावि कार्ययोजनाका विषयमा आयोजना गरिएको कार्यक्रममा अधिकाँश वडाबासीहरुले यस्तो गुनासो गरेका हुन् ।
अन्तरक्रियामा बोल्दै शान्तीटोल विकास सस्थाका अध्यक्ष विष्मलाल पौडेलले जनप्रतिनिधिको आगमन पछि आफुरुहको गुनासो सुनिदिने स्थान पाएको महशुष भएता पनि विकासले गति लिन नसकेको बताए । पौडेलले कृषि क्षेत्रलाई प्रभावकारी बनाउन कृषकलाई सम्वधोन गर्ने कार्यक्रम नगर देखी वडाले समेत अवलम्वन नगरेको गुनासो गरे ।
यता जेष्ठ नागरिकहरुको तर्फबाट बोल्दै कृष्ण प्रताप महतले वडाले जेष्ठ नागरिकहरुको नाममा विनियोजित गरेको बजेट दुरुपयोग भएको आरोप लगाए । उनले आवश्यकता भन्दा पनि फरक काममा बजेट खर्च भएको आरोप लगाउदै बृद्ध बृद्धाहरुको चाहानालाई सम्वोधन गर्ने कार्यक्रम ल्याउन वडाध्यक्षलाई आग्रह गरे ।
वडा न ९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठले चालु आर्थिक वर्षमा बृद्धहरुको बजेट जाडो मौसममा न्यानो कपडा स्वरुप ब्लाङकेट वितरण गरिएको तर बजेट दुरुपयोग नभएको स्पष्ट पारे । वडाध्यक्ष श्रेष्ठले वडामा सञ्चालनमा रहेको योजनाहरुको बारेमा जानकारी दिदै विगतका कमीकमजोरीहरुलाई निराकरण गरी वडाबासीहरुको चाहाना अनुसारको योजना आगामी आर्थिक वर्षमा सञ्चालन गरिने दावि गरे । उनले वडा न ९ को भौगोलिक संरचना उपयुक्त नभएको भन्दै निर्वाचित भएको पहिलो वर्ष ब्यवस्थीत रुपमा कार्य सम्पादन हुन नसकेको स्वीकार गरे ।
यता राधा कृष्ण टोल विकास समितिकी अध्यक्ष मुना मल्ल, ढोरबाराही तालबेसी महिला सञ्जालकी अध्यक्ष हरिमाया रेग्मी लगायतका बक्ताहरुले स्थानिय तहमा योजना सम्पन्न गर्नको लागी आवश्यक बजेट विनियोजन नहुने भएकाले सञ्चालित योजनाहरु गुणस्तरिय नहुने गरेको गुनासो गरे । साथै उनीहरुले वडा न ९ मा महिला जागरणको र खोला नियन्त्रण तथा ब्यवस्थापनको लागी आवश्यक ध्यान दिन वडा कार्यालयलाई आग्रह गरेका थिए ।
अन्तरक्रियामा सहभागी भएका शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्गले भने जनताको गुनासाहरुलाई कम गर्ने गरी लागी पर्न वडा कार्यालयलाई निर्देशन दिए । गुरुङ्गले अत्यावसकिय पूर्वाधार विकासलाई गति दिनको लागी आवश्यक रहेको दावि गर्दै समग्र ढोर क्षेत्रलाई पर्यटकिय रुपमा विकास गर्नु पर्ने बताए । उनले नगरमा कृषि र पर्यटनलाई प्रभावकारि बनाउने कार्य जनप्रतिनिहरुलाई च्यालेन्जको विषय भएको जनाउदै आधुनिक कृषि प्रणाली र पर्यटन प्रबद्र्धनमा नगरको ध्यान केन्द्रित रहेको स्पष्ट पारे । नगर प्रमुख गुरुङ्गले सामुहिक कृषिलाई जोड दिने कृषकहरुलाई नगरले आवश्यक सहयोग गर्ने विस्वास ब्यक्त गरे ।
वडा कार्यालय ढोरफिर्दीमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा स्वागत वडा सदस्य डिल बहादुर थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा सचिव विश्व बन्धु पौडेलले गरेका थिए ।