बालविवाह न्युनिकरण सम्बन्धी सडक नाटक ‘बालिका’ प्रर्दशन

Tanahun Khabar Daily

NEWS

जेठ, २१ थर्पु
इन्सेक र जिल्ला स्तरिय युवा समुहको आयोजनामा डिस्ट्रिक इभेन्ट अर्गनाइजरको प्रस्तुती रहेको बाल विवहा न्युनिकरण सम्बन्धि सडक नाटक ‘बालिका’ आईतबार म्याग्दे गाउँपालिका–२ जामुने स्थित राधा माविमा प्रर्दशनी गरियो ।
बालविवहाको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरुको जिवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले सो सडक नाटक प्रर्दशनी गरिएको थियो । ४५ मिनेटको उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमती, प्रेम सम्बन्धले ति बालबालिकाको शिक्षमा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दिर्घकालिन असर र त्यसको कारण बालिकाको मृत्यु भएको बारेमा सन्देश दिईएको थियो ।
उक्त सडक नाटकको निर्देशन ठुलो पर्दाको चलचित्र समेत निर्देशन गरिसकेका इभन जोशीले गरेका थिए । नाटकका निर्देशक तथा कलाकार जोशीले आफुले निर्देशन गरेको नाटकले बालविवहा न्युनिकरण गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । उनले बालविवहाको कारण बालबालिकाको आर्थिक, शैक्षिक र स्वास्थ्य सम्बन्धि दिर्घकालिन समस्या हुने गरेको कारण त्यसलाई रोक्ने उद्देश्यले नाटकको निर्माण र निर्देशन गरिएको बताए । यो नाटक जिल्लाका अन्य विद्यालयमा पनि प्रर्दशन गर्ने उनको भनाई छ ।
नाटकका कलाकार अनु श्रेष्ठले नाटक वास्तवमा निकै सन्देश मुलक रहेको हुँदा आफु गहिराईमा डुबेर अभिनय गर्ने बताईन् । सो नाटकमा निर्देशक जोशीको अलावा युवा समुहका अध्यक्ष एलोज श्रेष्ठ, अनु श्रेष्ठ, युथफर चिल्ड्रेनकी अध्यक्ष दुर्गा भण्डारी, बालकल्याण समितिकी कर्मचारी मुना तामाङ, बालमञ्चकी सदस्यहरु मुना मगर र प्रभा श्रेष्ठको अभिनय रहेको छ ।
सडक नाटक प्रर्दशनी कार्यक्रममा विद्यालयका प्रअ खुमराज तिवारी, नाटकका निर्देशक इभन जोशी, लायन्स क्लव अफ व्यास सिटिका अध्यक्ष राजकुमार श्रेष्ठ, इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, युथफर चिल्ड्रेनकी अध्यक्ष दुर्गा भण्डारी, युवा समुहका अध्यक्ष एलोज श्रेष्ठ लगायतले नाटकको महत्वको बारेमा चर्चा गरेका थिए । नाटक अवलोकनका क्रममा विद्यालयका विद्यार्थी र शिक्षक शिक्षीकाहरु निकै भावुक बनेका थिए ।