नागरिक समाज र वडा न १२ वीच अन्तरक्रिया सम्पन्न
Tanahun Khabar DailyNEWS
जेठ ९, दुलेगौडा
स्थानिय तहमा भएको विकास निर्माणलाई पारदर्शी र जवाफदेही बनाउने उदेश्य सहित नागरिक समाज र शुक्लागण्डकी नगरपालिका वडा न १२ विच सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार दुलेगौडामा सम्पन्न भएको कार्यक्रममा वडा न १२ मा सञ्चालनमा रहेका २८ वटा पूर्वाधार विकास निर्माणका योजनाहरु सम्पन्न हुने क्रममा रहेको वडाध्यक्ष मनराज गुरुङ्गले जानकारी दिए । उनले वडामा सञ्चालनमा रहेको करिव ६५ प्रतिशत योजनाहरु सम्पन्न भएर भुक्तानी समेत भैसकेको बताउदै बाकी सम्पूर्ण योजनाहरु जेठ मसान्त सम्ममा सम्पन्न हुने दावि गरे ।
उनले वडाका योेजना निर्माणमा गुणस्तरको लागी कुनै सम्झौता नहुने बताउदै पारदर्शी नभएको शंका लागे स्पष्टीकरण लिन आग्रह गरे ।
यता नागरिक समाजले वडाध्यक्षलाई निर्वाचनका समयमा गरिएका प्रतिबद्धता र घोषणा पत्र अनुसार विकास निर्माणलाई निरन्तरता दिन आग्रह गर्दै नागरिकहरुको अधिकारको विषयमा खेलवाड नगर्न जनप्रतिनिहरुलाई आग्रह गरेको थियो ।
कार्यक्रममा शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले जनप्रतिनिधिहरुको उपस्थितीले समस्या तथा असहजता भएको कुनै विषय भएमा नागरिक समाजलाई जानकारी गराउन आग्रह गर्दै विकासको नाममा खेलवाड नगर्न जनप्रतिनिधि तथा उपभोक्ता समितीलाई अपिल गरे ।
अन्तरक्रिया कार्यक्रममामा सहभागी भएको वडाका महिलाहरुले भने आत्मानिर्भर र नेतृत्व विकासको कार्यक्रममा वडाले ध्यान नपुर्याएको गुनासो गरे ।
यता अधिकाँश सहकारी तथा उपभोक्ता समितीहरुले भने वडाध्यक्षको कामबाट आफुहरु लाभान्वित भएको बताए । उनीहरुले वडाको विकासको लागी वडाध्यक्ष गम्भिर भएको दावि गर्दै फिरफिरेको विकासले कोल्टो फेर्ने आशा गरेको बताए ।
अन्तरक्रियामा सहभागी भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी प्रतिनिधि जगत बहादुर थापाले फिरफिरेको सुरक्षा आफुहरुको लागी चुनौती पुर्ण रहेको बताए । थापाले सरकारले उपलब्ध गराएको स्रोत र साधनहरुको सिमितताको कारण आफुहरु वडा न १२ का स्थानियहरुको माग सम्बोधन गर्न नसकेको स्विकार गरे ।
कार्यक्रममा सहभागीहरुले शुक्लागण्डकी नगरपालिका देखी स्याग्जाको सिमाना सम्ममा गाजाँको अवैध कारोबार हुने गरेको जानकारी दिए ।
कार्यक्रममा वडा का जनप्रतिनिधी सहित टोल विकास सस्थाका प्रतिनिधि, विभिन्न संघसस्था, राजनितिक दलका प्रतिनिधि, आमा समुह, युवा क्लव पत्रकार, सुरक्षाकर्मी र नागरिक समाजका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
समाजको अध्यक्ष खेमराज खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रिता अधिकारी, धन्यवाद कोषाध्यक्ष जित बहादुुर थापा र सञ्चालन सविच बाबुराम बस्नेतल गरेका थिए ।