तनहुँमा हर्षाेल्लासको साथ होली पर्व सम्पन्न

Tanahun Khabar Daily

LOCAL


विभिन्न कार्यक्रम गरी हर्षाेल्लास रुपमा तनहुँमा होली पर्व मनाइएको छ । एक आपसमा रंग दलेर मनाइने होली जिल्लाका विभिन्न संघ संस्थाहरु पनि कार्यक्रम नै गरेर होली पर्व मनाएका हुन् । यता तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको शुक्लागण्डकी जेसिसले समेत आफ्ना सदस्यहरु विच आपसमा रंग दलेर शुभकामना आदान प्रदान गर्दै विहिबार होली मनायो ।
जेसिसका सदस्यहरु विचको आपसी सम्वन्धलाई गाढा बनाउने विश्वास सहित होली कार्यक्रम आयोजना गरिएको अध्यक्ष दुर्गा सिग्देलले बताए । उनले भने–“विभिन्न कारणबस ब्यस्तता हुने भएकाले पनि सदस्यहरु विच भेटघाट हुने वातारण बन्दैन तर होलीले भेट मात्र हैन आपसी मित्रतालाई पनि गाढा बनाउने भएकाले कार्यक्रम गरेका हौँ ।”


जेसिसले वर्षेनी होली कार्यक्रम विशेष रुपमा मनाउदै आएको छ । जेसिसका कार्यसमितीका सदस्यहरुले पूर्व सदस्य तथा अन्य सदस्यहरुका साथै सामाजिक पद धारण गरेका ब्यक्तीहरुको घर घरमा पुगेर रंग दलेर शुभकामना आदान प्रदान सहित होली मनाउने गर्दछ । विहिबार पनि जेसिसले आफ्ना सदस्यहरुलाई घर नै पुगेर होली मनाउने क्रममा ढोरफिर्दी, दुलेगौडा, बेलचौतारा, खैरेनीटार र सेरा लगायतका स्थानमा पुगेर होली मनाएको थियो ।
यस्तै विहिबार यस क्षेत्रमा सञ्चालिच एफ.एम., रेडियो, वित्तिय संघ संस्था लगायतले विशेष हर्षाैउल्लास सहित होली मनाएका थिए ।
होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।


होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा–युवतीहरू गीत गाउँदै, नाच्दै होली खेल्छन् ।
भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासँग मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।


होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गो)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।