शुक्ला आधारभुत विद्यालयको २९ औँ बार्षिक उत्सव सम्पन्न
Tanahun Khabar DailyLOCAL
शुक्ला आधारभुत विद्यालय शुक्लागण्डकी-७ ,शान्ति नगरको २९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । बार्षिक उत्सवको उद्घाटन गर्दै पुर्वमन्त्री एवं प्रदेश साँसद आशा कोइरालाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि शिक्षक ,अभिभावक र स्थानिय तहले दायित्वबोध गर्नु पर्ने बताइन् । उनले सवै मिलेर विद्यालयको शैक्षिक गुणस्तर बढाउन सके सामुदायिक विद्यालय छोडर विद्यार्थीहरु अन्त नजाने दाबी गरिन् ।साँसद कोइरालाले पढाइ राम्रो हुने विद्यालयमा अभिभावकहरुले आफ्ना बालबच्चा पढाउन चाहेको उल्लेख गर्दै टाढा टाढा राम्रो विद्यालय खोज्न जानु भन्दा आफ्नै ठाँउको विद्यालयको शैक्षिक गुणस्तर बढाउन लागि पर्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले अहिलेको आधुनिक युगमा शिक्षासंग प्रविधि जोड्न नसकिए हाल अध्ययनरत विद्यार्थीको भविष्य उज्यालो हुन नसक्ने बताए । उनले नगरभित्र रहेका ६१ वटा सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि नगरपालिका लागि परेको उल्लेख गरे ।आगामी नयाँ शैक्षिक सत्र देखि सामुदायिक विद्यालयहरुका शिक्षक एवं कर्मचारी लागि विधुतीय हाजिरीको व्यवस्था गर्ने बताउँदै उत्कृष्ट नजिता ल्याउने विद्यालय तथा शिक्षकलाई पुरस्कृत र मापदण्ड भन्दा कम प्रतिफल ल्याउने विद्यालय र शिक्षकलाई दण्ड सजायको व्यवस्था गरिएको उनले सुनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क सिं थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा नं ७ का वडाध्यक्ष राम बहादुर क्षेत्री , तनहुँ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष हरि बहादुर थापा, नेकपा एमाले क्षेत्र नं २ का सचिव मुक्ति तिम्सिना ,नेपाल मगर संघ तनहुँका पुर्वअध्यक्ष इन्द्र बहादुर थापा ,विद्यालय व्यवस्थापन समितिका सदस्य एवं वडा सदस्य गिर बहादुर थापा, अक्षय कोष दाता तुलमाया वि.क अभिभावक रेशमराज खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक सुर्य कुमार श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षिका ठगा अधिकारीले अतिथिहरुलाई स्वागत गरेकी थिइन् भने शिक्षक पदम प्रसाद गौतमले कार्यक्रमको संचालन गरेका थिए ।