NEWS

माघे संक्रान्तिमा २९ हल गोरु जुधाइए

 

नुवाकोट/रसुवा — स्पेनको राष्ट्रिय खेल ‘बुल फाइट’ को झल्को दिने गरी तारुका र वेत्रावतीमा सोमबार गोरु जुधाइएको छ । माघे संक्रान्तिका अवसरमा विदुर नगरपालिका–१० वेत्रावतीमा ९ हल र तारकेश्वर–३ तारुकाको ठूलो पाटोबारीमा २० हल गोरु जुधाइएका हुन् ।


रमाइलो हेर्न दुवै स्थानमा हजारौं दर्शक ओइरिए । भीड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्‍यो ।
‘संक्रान्तिमा बिहान घिउ, चाकु, तरुल र खिचडी खाइयो, त्यसपछि गोरु जुधाइ हेर्न आइयो,’ स्थानीय चक्रबहादुर डंगोलले भने, ‘यो पुरानो परम्परालाई जीवित राख्नुपर्छ ।’ जुधाउनैका लागि वर्षभरि गोरु स्याहारेर राखिन्छ । गोरुलाई वर्षभरि पीठो र मास खुवाएर बलियो बनाउने गरेको विदुर नगरपालिका ७ का बहादुर तामाङले बताए । संस्कृति जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी यस क्षेत्रको विकास गर्न गोरुजुधाइ गरिएको गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताए । विक्रम संवत् १८४९ असोजमा नेपाल–चीन बीचमा भएको सन्धिको खुसियालीमा हरेक वर्ष माघ १ गते गोरु जुधाउने चलन छ । पुर्खाहरूले सन्धिपछि तीन हल गोरु खेतको गह्रामा जुधाएर गिर खेलेको किंवदन्ती रहेको स्थानीय अष्टमान डंगोलले बताए ।
गोरुजुधाइ प्रतियोगिता हेर्न काठमाडौं, धादिङ, संखुवासभा, ललितपुर, नुवाकोट र रसुवालगायत जिल्लाका हजारौं दर्शक ओइरिएका थिए । जिल्लाको दक्षिण भेग तारुकाको गोरुजुधाइ एकसय वर्ष पुरानो हो । किंवदन्तीअनुसार बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा १९७८ मा तारकेश्वर ३ मा उनका मामाले भान्जाको स्वागतमा बाजागाजासहित गोरु जुधाएका थिए । त्यसपछि यो परम्पराका रूपमा चलिरहेको छ । वेत्रावती रसुवा र नुवाकोट जिल्लाको सीमा हो । विगतका वर्षहरूमा परम्परामा मात्र सीमित थियो, गोरु जुधाउने मेला । १२ वर्षयता गोसाइँकुण्ड युवा क्लबमार्फत व्यवस्थित गरिएको छ । संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनसँग जोडेर व्यवस्थित रूपमा निरन्तरता दिँदै आएको क्लबले जनाएको छ ।
हरायो चरा लखेट्ने परम्परा
हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रमा केही वर्ष अघिसम्म माघे संक्रान्तिलाई ‘चरा लखेट्ने’ पर्वका रूपमा मनाइन्थ्यो । रैथाने चरा स्थानीयको निसानामा पर्थे । अहिले यो चलन हराउँदै गएको छ । सरकारी वन समुदायले जिम्मा लिएर संरक्षण र व्यवस्थापन गर्न थालेपछि चोरी–सिकार नियन्त्रण मात्र होइन, परम्पराको नाममा चरा मार्ने प्रचलन समेत हराएको हो । ‘माघे संक्रान्तिका दिन भ्याकुर र संग्रेला जातका चरा लखेटेर मार्ने गरिन्थ्यो,’ ७० वर्षीय चिनियाँ कार्कीले भने, ‘अहिले यो प्रचलन हराएको छ ।’ भ्याकुरसँगै सयौंको संख्यामा बथानमा भुइँनजिकबाट उड्ने र खनी–खोस्री चर्न मन पराउने संग्रेला जातको चरा लखेटाइमा पर्थे । सयौंको संख्यामा रहने संग्रेलालाई दर्जनौं व्यक्तिले जंगलमा घेरा हालेर खेददै फाँटसम्म ल्याउँथे । थाकेर उड्नै नसक्ने भएपछि हिर्काएर मार्ने चलन रहेको कार्कीले बताए ।
माघे संक्रान्तिका दिन अपराह्न संग्रेला लखेट्न गाउँघरका सबैलाई उर्दी नै जारी गरिन्थ्यो । परम्पराकै रूपमा विकसित भएकाले माघे संक्रान्तिका दिन बालबालिकादेखि पाकासम्म चरा लखेट्न कस्सिन्थे । थाहा नगरपालिकाको घर्तीखोलाका देवबहादुरकार्कीले भने, ‘जंगलबाट खेदेर बेंसीसम्म आइपुग्दा आत्तिएर बेहोस जस्तै भएका चराहरूलाई कसैले त्यत्तिकै समात्थे, कसैले लौराले हिर्काएर मार्थे ।’
Facebook Comments
Show More
Loading...
Close