उद्योग बाणिज्य संघ तनहुँको चुनाव आज, विष्ट र श्रेष्ठ मैदानमा

Tanahun Khabar Daily

NEWS

दुलेगौडा, २९ पौष
तनहुँ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । विहान ८ बजेबाट शुरु मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । विहान १०ः३० सम्म ५ सय मत खसिसकेको छ । संघमा कुल ३ हजार २ सय ३३ मतदाता छन् । जिल्लामा रहेका १२ वटा इकाई र १ महिला उद्यमीको अधिवेशन भएपछि शुक्रवारदेखि १५ औं महाधिवेशन र ३२ औं वार्षिक साधारणसभा शुरु भएको हो ।
संघको अध्यक्ष पद दाबी गर्दै वर्तमान प्रथम उपाध्यक्ष ईश्वर बहादुर विष्ट र पूर्व प्रथम उपाध्यक्ष मानकाजी श्रेष्ठले प्यानल सहित उम्मेदवरी दर्ता गरी आ– आफ्ना चुनावी एजेण्डासहित व्यवसायीसंग भेटघाट गरेका छन । संघको अध्यक्ष पदको दाबा गरेका विष्टको प्यानलबाट प्रथम उपाध्यक्षमा दुलेगौंडाका व्यवसायी विमलप्रसाद रिमाल र द्धितीय उपाध्यक्षमा भिमादका व्यवसायी बाबुराम सुनार छन् भने श्रेष्ठ प्यानलबाट प्रथम उपाध्यक्षमा दमौलीका बैकुण्ठनाथ मिश्र र द्धितीय उपाध्यक्षमा खैरेनीटारका हरिबहादुर थापा उम्मेदवार छन् । कोषाध्यक्षमा भने दुबै प्यानलबाट महेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत भइसकेका छन् ।
यसअघि संघको १५औं महाधिवेशन र ३२ औं वार्षिक साधारण सभाको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै ढकालले व्यवसायीहरु आफ्नो अधिकारको लागि एक जुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।