प्रदेश न ४ का मुख्यमन्त्रीको दुई चर्चित दावेदारमा बरिष्ठताको लेखाजोखा

Tanahun Khabar Daily

NEWS

काठमाडौं ।प्रदेशतर्फको समानुपातिक सिट बाँडफाँड भएपछि मुख्यमन्त्रीको बहसले तीब्रता पाएको छ । प्रदेश– २ बाहेक ६ वटै प्रदेशमा सहजै सरकार बनाउने बहुमत पाएको बाम गठबन्धनमा कसले मुख्यमन्त्री पाउने भन्ने अन्यौल छ ।

एमाले र माओवादी केन्द्रबीच सम्भवतस् ४/२ को भाग लगाएर मुख्यमन्त्री भागबण्डा हुने निश्चित भएको छ । प्रदेश १, ३,४ र ५ एमालेले लिनेछ भने ६ र ७ माओवादी केन्द्रले पाउने छ ।

प्रदेश ३ र ५ मा एमालेबाट मुख्यमन्त्रीमा धेरै विवाद छैन । ३ मा सिनियर र लैंगिकता मिलाएर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाउने निश्चित जस्तै छ । प्रदेश ५ मा पनि शंकर पोखरेलको निश्चितजस्तै भएको छ ।

प्रदेश १ मा शेरधन राई र भीम आचार्यमध्ये एकलाई मुख्यमन्त्री र एकलाई सभामुख बनाउने सोचमा छन् एमाले अध्यक्ष केपी शर्मा ओली । प्रदेश नम्बर ४ मा भने सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले दाबेदारी छाडेका छैनन् । दुवैले दाबी झनै तीब्र पारेपछि अध्यक्ष ओलीसमेत अप्ठ्यारोमा परेका छन् ।

वरीयताले पृथ्वीसुब्बा अगाडि रहे पनि किरणको दाबेदारी बलियो हुँदै गएको ओली निकट स्रोतको भनाइ छ । ४ मुख्यमन्त्री शीर्ष नेताहरुमा भागबण्डा हुँदा पृथ्वीसुब्बालाई असहज पर्ने देखिएको छ । प्रदेश १ र ५ मा ओलीले आफू निकटलाई मुख्यमन्त्री बनाएसँगै प्रदेश ३ माधवकुमार नेपालपक्षीय अष्टलक्ष्मी शाक्यलाई छाड्नुपर्नेछ । प्रदेश ४ मा वामदेव गौतमले अडान छाड्ने अवस्था छैन । गौतमले अडान लिए किरण प्रदेश ४ को मुख्यमन्त्री हुने निश्चित छ ।

दुई नेताका रोचक तथ्यहरु

तथ्य १

नेता किरण गुरुङ भन्दा पृथ्वीसुव्वा गुरुङ करिव १२ बर्षपछि केन्द्रीय तहमा पुगेका हुन् । किरण २०४८ सालमै एमालेको राष्ट्रिय परिषद सदस्य हुँदै २०४९ सालमा भएको चर्चित पाँचौं महाधिवेशनवाट केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् ।

जतिवेला पृथ्वीसुब्वा जिल्ला कमिटीमा काम गरिरहेका थिए । २०४८ साल फागुनमा भएको लमजुङ जिल्ला अधिवेशनबाट पृथ्वीसुब्वा जिल्ला कमिटीमा निर्वाचित भएका थिए । उनि २०६० मा बल्ल नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन् ।

तथ्य २

पञ्चायत विरुद्ध भएको आन्दोलनमा किरणले बिभिन्न जिल्लाको नेतृत्व गरिरहँदा पृथ्वीसुब्वा लमजुङकै एक बिद्यालयमा पढाइरहेका थिए । किरण २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज भएर गण्डकी र धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर काम गर्दा पृथ्वीसुब्वा शिक्षक संगठनमा काम गरिरहेका थिए । उनि २०४० साल मंसीरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटीमा संगठित भएका थिए ।

तथ्य ३

किरण गुरुङ २०३६ सालको जनमतसंग्रहको वेला बहुदलको पक्षमा लागे । प्रधानपञ्चको छोरा बहुदलको पक्षमा लागेपछी परिवारमा मनमुटाव भयो । त्यसपछि किरण जनताको मुक्तिका लागि परिवारसँग विद्रोह गरेर भुमिगत भए । किरण १७ बर्षको उमेरमा भएभरका पुस्तक र प्रमाणपत्र जलाएर भुमिगत राजनीतिमा लागे । तर पृथ्वीसुब्वाले कहिलै भुमिगत राजनीति गरेनन् । न पढाई छोडे न त परिवारसँग बिद्रोह गरे ।

किरणले भएभरका पुस्तक र प्रमाणपत्र जलाएर भुमिगत राजनीति सुरु गर्दा पृथ्वीसुव्वा अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाण्डौंमा बि.एस्सी पढ्दै थिए ।

तथ्य ४

भूमिगत राजनीतिकसँगै किरणले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुका साथै बहुदल आएपछि २०४८ सालमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा जितेर सांसद बने । त्यतिवेला पृथ्वीसुब्वा युवा संघको जिल्ला तहमा काम गर्थे । पृथ्वीसुव्वा २०४७ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको लमजुङ जिल्ला संयोजक भएका थिए ।

तथ्य ५

किरण गुरुङ २०३६ सालमा कास्कीको उपसचिव हुँदै पछि सचिव र नेकपा मालेको पश्चिम–उत्तर क्षेत्रीय कमिटी सदस्य भए । २०३९ सालमा बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज, २०४५ सालमा स्याङ्जाको सचिव, २०४६ मा गण्डकी र धौलागिरीको पालैपालो सचिव भए ।

पृथ्वी सुब्वा गुरुङ भने २०५० फागुन १०–११ को जिल्ला अधिवेशनबाट लमजुङको जिल्ला सचिव बनेका हुन् । उनि २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएका थिए । जवकी त्यसको एक दशक अघि नै किरणले त्यो जिम्मेवारी निर्वाह गरिसकेका थिए ।

त्यसअघि मनोनित भएका पृथ्विसुब्बा २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट बल्ल केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन् । जवकी किरण २०४९ सालमै अर्थात १६ वर्षअघि नै केन्द्रिय कमिटी सदस्य निर्वाचित भएका थिए ।

तथ्य ६

पृथ्वीसुव्वा २०७१ मा पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भए । महाधिवेशनमा पृथ्वीसुव्वा पार्टी सचिव लड्दा किरण गुरुङ पार्टी उपाध्यक्ष पदका लागि चुनाव लडेका थिए ।