HEALTH
खाडीमुलुक जानेहरुमा मृगौला फेल हुने समस्या बढ्दो

नेपालमा मृगौला रोगीका बिरामी हरेक बर्ष बढेका छन् । खानपान र जीवनशैली परिवर्तन ले गर्दा थाहै नपाई मृगौला रोग लाग्ने भएकाले पनि यो रोगका विरामी बढिरहेको चिकित्सकहरुले बताएका छन् ।
मृगौलाको मुख्य काम शरीरमा रहेका मेटाबोलिजमबाट उत्पादन हुने विकारहरू शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । त्यस बाहेक मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउन, क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउन, मांसपेसी र नसाहरू चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन, रगत बनाउने हार्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ ।
मृगौलाले विकारहरूलाई पिसाबको माध्यमबाट फाल्छ भने, लवणहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस जस्ता तत्वलाई मिलाउने काम गर्दछ । जुन हाम्रो शरीरका प्रत्येक कोषका लागि महत्वपूर्ण छ । पछिल्ला दिनहरुमा मृगौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल धाउनेहरुमा बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको संख्या निकै बढ्दो छ ।
खाडिका देशहरुमा पिउने पानीको अभाव र कडा परिश्रम गर्ने तर पर्याप्त पानी नपिउने र चिसो पिय पदार्थ धेरै पिउने कारण अधिकांश नेपालीहरुको मृगौला फेल हुने गरेको चिकित्सकहरुले बताएका छन् ।
मृगौला राम्रो बनाउनका लागि प्रसस्त मात्रामा हरिया सागसब्जी खानु पर्दछ । तर खाडी मुलुकमा हरिया सागसब्जीको सट्टा बढिजसो मासुजन्य पदार्थ खाइने गरिन्छ ।
त्यसैले पनि खाडि जानेहरुको मृगौला मा खराबी आउने सम्भावना बढी हुन्छ । पिसाब धमिलो हुने, धेरै पटक वा कम पिसा लाग्ने, रिङ्गटा लाग्ने, लगातार वाकवाकी आउने वा झाडा लागिरहने हात खुट्टा सुन्निने छातीको पछाडिपट्टीको भाग सुन्निने, भोक नलाग्ने वा बढी भोक लाग्ने लक्षण हुन्छ ।
कुनै पनि रोग लाग्यो भने लामो समयसम्म निको नहुने, छाला चिलाउने जस्ता लक्षण देखिएमा मृगौलामा खराबी हुन् सक्छ । मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु हो । यसको लागि मुगौलाको नियमित जाँच गराउनु पर्दछ ।
प्रशस्त सफा पानी पिउनुका साथै जथाभावी औषधि सेवन गर्नुहुँदैन, धुम्रपान तथा मद्यपानबाट टाडै रहने नियमित व्यायम गर्ने गरेमा मृगौला स्वास्थ राख्न सकिन्छ ।