NEWS
फस्टाएन शुक्लागण्डकीको रजस्थलमा होम स्टे

राजन उपाध्याय
ग्रामिण पर्यटनको महत्वपूर्ण आधार मानिने होमस्टेको विकास र प्रवद्र्धन हुन नसक्दा स्थानीयहरु चिन्तित भएका छन् । तनहुँको शुक्लागण्डकी– १० स्थित रजस्थलमा ६ वर्ष अघि सञ्चालित रजस्थल होमस्टेको विकास हुन नसकेको हो । होमस्टे सञ्चालनसँग सम्बन्धित आवश्यक ज्ञान तथा तालिम नहुँदा स्थानीयहरु यस व्यवसायमा सफल हुन सकेका छैनन् । यस क्षेत्रमा रहेका कला, संस्कृति, संस्कारको पहिचान तथा पर्यटन क्षेत्रको विकास एवम स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने उदेश्यले होमस्टे सञ्चालनमा ल्याइएको थियो । रजस्थल बाइसे चौबीसे राज्यकालमा ढोर राजाले राज्य गरेको स्थान हो ।
रजस्थल टोल बिकास संस्थाका अध्यक्ष याम बहादुर रानाले प्राकृतिक र ऐतिहासिक रुपमा महत्वपूर्ण रहेको यस क्षेत्रमा पर्याप्त सम्भावना हुदाहुदै पनि अगाडी बढ्न नसकेको उल्लेख गरे । ‘सरोकारवाला निकायले ध्यान दिएन, हामीले कोसिस गर्दागर्दै पनि सफल हुन सकेनौ’ उनले भने । गाउँमा सबै मिलेर होमस्टेका लागी आवश्यक संरचना निर्माण गर्न नसेकेको रानाले बताए ।
रजस्थल बेतपानी आमसमुहकी सचिव दिलश्री गुरुङले आफुहरुले व्यवस्थित तरिकाले जान नसकेको बताइन् । उनले भनिन ‘होमस्टे सञ्चालनका लागी आवश्यक पर्ने आधारभुत विषयको ज्ञानको खाँचो छ, कहिकतैबाट अबसर आएको छैन ।’
स्थानिय भिम बहादुर गुरुङले उचित प्रचारप्रसार गर्ने हो भने तनहुँ जिल्लाकै नुमुना होमस्ट बन्ने दाबि गरे । बिना प्रचारप्रसार पनि पर्यटकहरु बेलाबखतमा आउने गरेका छन् । गाउँलेले होमस्टेमा बस्न आउने पाहुनालाई गुरुङ्ग र मगर समुदायको साँस्कृतिक कार्यक्रम र गाउँमै उत्पादित खानाका परिकारले स्वागत गर्ने गरेका छन् ।
रजस्थल पुग्नेलाई सुर्योदय र सुर्यास्तको मनोमहक दृश्यले लोभ्याउने स्थानियहरुले बताए । दुलेगौडाबाट १२ किलोमिटर टाढा रहेको सो गाउँ प्रकृतिले भरिपुर्ण छ । रजस्थलबाट तनहुँसँगै कास्की, स्याङजा, पर्वत, बाग्लुङ, लमजुङ, गोरखा, नवलपरासी लगायतका जिल्लाहरु देख्न सकिन्छ ।
यस जिल्लाकै महत्वपूर्ण मानिे मिलिनियम ट्रेकको रुटमा पर्ने यस होमस्टेको सम्भावाना धेरै देखिन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बनेको होमस्टे सेवाको गुणस्तरीय व्यवस्थापन तथा बजारीकरण गर्नुपर्नेमा मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बिक्रम खाँण ठकुरीले जोड दिए ।
वडा नं. १० का अध्यक्ष रामचन्द्र भण्डारीले पर्यटकीय गाउँलाई वडाले प्राथमिकता दिने बताए । होमस्टेको पर्याप्त सम्भावना भएर पनि ओझेलमा परेका रजस्थल जस्ता गाउँहरुलाई प्रचार प्रसार र प्रवद्धन गर्ने उल्लेख गरे ।
स्रोतः शुक्लागण्डकी एफएम
