NEWS

पद्मा अर्यालको अनुभवः चुनाव जितेको होइन, युद्ध मैदानबाट बाँचेर फर्किएँ

‘समानुपातिकमा एकपटक भन्दा बढी मौका दिनुहुँदैन’


८ पुस, काठमाडौं । ‘ठूलो युद्ध मैदानबाट बाँचेर आएजस्तो लागिराछ’ अनलाइनखबरकर्मीसँग भेट्नासाथ एकै सासमा उनले भनिन्, ‘मैले चुनाव होइन, राज्यसत्तासँग लडाइँ जितेको हो, चुनावी जितहार भन्दा ज्यान जाने डर थियो’ ।

उपप्रधानमन्त्री तथा शिक्षामन्त्री अनि कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनाव हराएर स्याङ्जाबाट काठमाडौं आइपुगेकी एमाले नेतृ पद्मा अर्याल अझै फर्ममा आइसकेकी छैनन् ।चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो । उनको मोबाइल खोसेर लखेटियो । प्रहरीसँग सुरक्षा माग गर्दा एसपी सम्पर्कविहीन भए । चापकोट नगरपालिकाका चारवटा बुथ उनकै आँखा अगाडि विपक्षीले कब्जा गरेर एकछापे भोट हालेको उनी बताउँछिन् । पदमा चुनाव जित्नुभन्दा ज्यान बचाउनु ठूलो कुरा हो भन्दै मैदान छाडेर हिँडिन् ।हुन पनि स्याङ्जा–२ मा यसपटक निकै तनावपूर्ण चुनाव भयो, अन्तिममा नतिजा पद्माको पक्षमा आयो । गोपालमान पराजित भए ।

सबैतिरको हारगुहार काम नलागेपछि निकै ढीलो मतगणना गर्न राजी भइन् । एउटी महिला त्यसमा पनि प्रहरी प्रशासन नै लागेपछि सरकारका वरिष्ठ मन्त्रीका अगाडि टिक्ने अवस्था थिएन । तर स्याङ्जाली जनताले यसपटक चमत्कार गरे । यी महिला नेतृले गोपालमानलाई करीव ४ हजार मतान्तरले पराजित गरिन् ।

यी साहसी महिलाले यसपटक समानुपातिकबाट सांसद बन्ने सजिलो बाटो छाडेर गोपालमानसँग चुनाव लड्ने कठिन बाटो रोजेकी थिइन् । उनलाई धेरै शुभचिन्तकले भनेका थिए–पहरोसँग कुइनो ठोक्काउँदै हुनुहुन्छ, गोपालमान पहरो हुन्,उनलले सबै शक्ति लगाएर चुनाव जित्छन् ।

हुन पनि गोपालमानले आफूले चुनाव जित्नका लागि निर्वाचन क्षेत्र निर्धारण गर्दानै स्याङ्जा २ लाई कांग्रेसको अनुकुल बनाउन पहुँच प्रयोग गरेको आरोप लागेको थियो । तर पद्मा अर्यालले चुनाव जितिन् । गोपालमान हारेपछि स्याङ्जामा खैलाबैला मच्चियो । ‘स्याङ्जामा राजतन्त्र ढलेको जस्तो उत्सव मनाए जनताले मेरो जित र गोपालमानको हारमा’ उनले भनिन् ।

प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेर जम्मा ६ जना महिला आइपुगेका छन् । तीमध्ये एमालेका दुईजना छन् । चुनाव जितेर आउने ६ जना महिलामध्ये सबैभन्दा हाइप्रोफाइल नेतालाई हराउने पद्मा अर्यालनै परिन् । उनको जितबारे एमाले नेतृत्व आफैं विश्वस्त थिएन ।

एमालेकी प्रथम जिल्ला अध्यक्ष


एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेर चर्चामा आएकी थिइन् पद्मा । उनले पुरुष प्रतिस्पर्धीलाई आन्तरिक प्रतिस्पर्धामा पराजित गरेर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनिन् । अहिले स्याङ्जा जिल्ला इन्चार्ज पनि ।

चुनाव जित्न गाह्रो छ भन्ने उनलाई शुरुदेखिनै लागेको थियो,किनकी कांग्रेसको गढमा गोपालमान जस्ता नेतासँग प्रतिस्पर्धा गर्दै थिइन् । चुनावको मुखैमा सिडिओ र एसपी फेरिएपछि उनले गडबडीको आशंका गरिन् । जुन आशंका चुनावको दिनदेखि मतगणनाको दिनसम्म सत्यतामा परिणत भएको उनको दावी छ ।

अर्यालले भनिन्–मैले सिडिओ र एसपीसँग तपाईहरु निष्पक्षमात्र भइदिनुस भनेर धेरै अनुनय बिनय गरेँ तर एसपी त गोपालमानको चुनाव प्रचारकनै बने । सिडिओले पनि निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन्,राज्यका मेसिनरी र मन्त्री मिलेपछि मेरा लाग चुनाव राज्य आतंकनै बन्यो ।

गोपालमानलाई पद्माले दाइ भन्छिन् । सधैं सम्मान गरेकै नेता हुन् । तर यसपटक चुनावले उनीहरुबीच तिक्तता बढायो । मतगणना चलिरहेका बेला गणनास्थल पुगेका गोपालमानले पद्मालाई सोधे–के छ बहिनी । उनले जवाफ दिइन्–ठिकै छ,तपाईको राज्य आतंकबाट ज्यान जोगाउन सफल भएकी छु । त्यसबाहेक कुनै संवाद भएन ।

गोपालमानसँगको प्रतिस्पर्धा उनका लागि यो पहिलो भने थिएन । ०५६ सालमा तत्कालीन मालेको उम्मेदवार बने पनि उनी मुख्य प्रतिस्पर्धी थिइनन् । चुनाव जितेपछि पद्मा अर्यालको चर्चा चुलियो । मतदातालाई धन्यवाद दिएर उनी काठमाडौं आइपुग्दा नेताहरुले भने–नसोचेको ठाउँमा जित्नुभयो ।

एमालेका प्रत्यक्ष निर्वाचित दुई महिला सांसदमध्ये झापाकी पवित्रा खरेल र स्यांजाकी पद्मा अर्यालमात्र हुन् । उपप्रधानमन्त्री तथा कांग्रेस बरिष्ठ नेतालाई पराजित गर्ने पद्माको चर्चा भावी मन्त्रीका रुपमा हुन थालेको छ । तर, उनले भने पार्टीले दिएको जिम्मेवारी बहन गर्ने बाहेक अरु कुनै महत्वकांक्षा नरहेको बताइन् ।

अर्याल भन्छिन्– म चुनौति मोलेर प्रत्यक्ष निर्वाचन लडेँ । अब मन्त्री बनाउने नबनाउने कुरा पार्टीको निर्णय हो । पार्टीले दिएको कुनै पनि जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सक्छु भन्ने मैले प्रमाणित गरिसकेकी छु । तर महिलाको उपस्थिति सरकारमा बलियो हुनुपर्छ ।

स्याङ्जामा यो संयोगनै मान्नुपर्छ कि यसपटक महिला नेतृत्वका हिसाबले उदाहरण बनाएका छन् यहाँका महिलाले । पद्मा अर्याल पार्टीको जिल्ला अध्यक्ष भएपछि शुरु भएको महिला नेतृत्वको विकास अहिले सांसद, जिल्ला समन्वय समितिको प्रमुख र नगरपालिकाको मेयरसम्म पुगेको छ ।

केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिकाको मेयरमा सीमाकुमारी क्षेत्री निर्वाचित भइन् । त्यस लगत्तै भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सीता सन्दास प्रमुख निर्वाचित भइन् । अहिले प्रतिनिधिसभा सदस्यमा पद्मा अर्याल निर्वाचित भइन् ।

०३७ सालदेखि तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा संलग्न भएकी अर्यालसँग ०५४ मा वडा सदस्य जिते बाहेक प्रत्यक्ष चुनावको अनुभव थिएन । ०६४ मा समानुपातिक सभासद बनेकी थिइन् ।

तर, समानुपातिक र आरक्षणका सिटमा एकजना व्यक्तिलाई एकपटक भन्दा बढी अवसर दिन नहुने उनको धारणा छ ।

स्रोतः अनलाइन खबर

Facebook Comments
Show More
Loading...
Close