प्रथम थामडाँडा साँखे सास्कृतिक महोत्सव हुने

Tanahun Khabar Daily

NEWS

दुलेगौडा, ८ पौष । शुक्लागण्डकी– ११ स्थित साँखे बजारमा प्रथम थामडाँडा साँखे साँस्कृतिक महोत्सव हुने भएको छ ।
माघ २६ देखि फागुन ४ गतेसम्म शिवरात्रीको अवसरमा थामडाँडा युवा क्लबको आयोजना र मंगला एम्युजमेन्ट प्रालिकोे व्यवस्थापनमा महोत्सव हुन लागेको हो । महोत्सवबारे जानकारी गराउदै क्लबका अध्यक्ष लेखबहादुर रानाले आफ्नो गाउँ ठाउँको मौलिक कला, संस्कृतीको प्रचार र प्रबद्र्धनका लागी महोत्वसको आयोजना गर्न लागिएको बताए । उनले भने – ‘हामी स्थानियस्तरमा उत्पादित कृषिजन्य समाग्री र पर्यटकिय स्थलहरुलाई बिशेष स्थान दिनेछौ ।’
सह–आयोजक साँखे युथ क्लबका अध्यक्ष महेन्द्र गौतमले महोत्सवबाट बचेको आम्दानीले विकास निर्माणमा खर्चिने जानकारी दिए । उनले स्थानीय स्तरमा सरकारको बजेटले मात्रै पुरा नभएको बिकास निर्माणलाई प्राथमिकता दिने उल्लेख गरे । शुक्लागण्डकी– ११ का अध्यक्ष दलबहादुर थापाले महोत्सवलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वडा नम्बर १० का अध्यक्ष रामचन्द्र भण्डारीले महोत्सव स्थानियस्तरका उत्पादनको बजारीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । महोत्सव सम्पन्न गर्न करिब ३५ लाख लाग्ने अनुमान गरिएको छ । हरेक शिवरात्रीको अवसरमा आयोजना हुदै आएको शिवरात्री धमका मेलालाई यसबर्षदेखि महोत्सवको रुप दिन लागिएको हो । महोत्सवमा दैनिक राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुती, हास्यव्यंग प्रहसन, विभिन्न जातजातीको सस्कृति झल्कने झाँकी प्रदर्शनी, बालउद्यान, थामडाँडाको कौडा गीत, चरी नाच लगायत रहने आयोजकले जनाएको छ ।
साथै गायन कलालाई उजागर गर्न तनहुँ आइडल पनि गरिने छ । आइडलको उपाधि बिजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछ । सोहि अवसरमा भलिबल प्रतियोगिता समेत गरिने क्लव अध्यक्ष रानाले जानकारी दिए । सो प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतिय हुनेले क्रमशः ५५, ३५ र २५ हजार रुपैयासँगै प्रमाणपत्र पाउनेछन् ।

स्रोतः शुक्लागण्डकी एफएम