नयाँ शक्ति पार्टीका क्षेत्रिय इन्चार्जलाई तनहुँ खबरको ६ प्रश्न

Tanahun Khabar Daily

Interview

१. ऐतिहासिक संघिय प्रतिनिधिको निर्वाचनलाई कसरी लिनु भएको छ ?
— यो एउटा ऐतिहासिक निर्वाचन हो । विगतका निर्वाचन भन्दा यो यस मानेमा फरक छ की पहिलेका चुनावहरु केन्द्रिकृत सत्ता अन्तर्गत हुन्थे । तर यो निर्वाचन तहगत रुपमा जनताका प्रतिनिधिहरु द्धारा गाउँपालिका, नगरपालिका प्रदेशहरु केन्द्रिकृत सत्ता अन्तर्गत रहदैनन् । जसका कारण निर्वाचित प्रतिनिधिहरुले स्वतन्त्र भई आफ्नो क्षेत्रको विकास गर्न सक्छन् । तर यसका बेफाइदाहरु प्नि केही छन् । ती भनेको स्वभाविक हिसावले कर बृद्धी हुदाँ जनतालाई मार पर्न सक्छ । किनकी एकिकृत सम्पती कर तोकिए लगत्तै कतिपय आय आर्जन नहुने अचल सम्पतीहरुको कर तिर्न जनतालाई असहज भएको गुनासो सुन्न थालिएको छ । साथै अर्काे बेफाइदा भनेको निर्वाचित प्रतिनिधिहरु सदाचारी बन्न सकेनन भने भ्रष्टचारको दायरा बृद्धी भई जनताले बुझाएको कर ब्यापक दुरुपयोग हुने सम्भावना देखिन्छ । तथापी जनताले चुनेका प्रतिनिधीद्धारा बनाइएको यो संविधान अन्तर्गतको संघिय प्रतिनिधिको निर्वाचन समग्रमा जनताको पक्षमा छ भन्न सकिन्छ ।
२. यस क्षेत्रमा नयाँ शक्ती पार्टीले निर्वाचन जित्ने सम्भावना कस्तो छ ?
— निर्वाचन परिणाम नआए सम्म जित हारको कुरा गर्न अनुमान मात्र हुन्छ तथापी हाम्रो भर्खरै स्थापित सानो पार्टीले चुनाव जितीहाल्छ भन्नु गलत हुन्छ । तर यो एउटा झिल्को हो र भविष्यमा जनताले स्वीकार्ने छन् भन्ने हाम्रो विस्वास हो । यस पटकको चुनावमा हाम्रो पार्टीले दुईचार जना मात्र प्रतिनिधि प्रबेश गराउन सकियो भने संविधान निर्माण पछि राष्ट्रमा देखिएको राजनितिक अराजकताको भण्डाफोर गरि जनतालाई सचेत गराउन सकिने छ । यही उदेश्यका साथ हामी निर्वाचनमा होमिएका छौँ । यही राजनितिक अवस्थामा यही पद्धती र परिपाटीमा कुनै पनि पार्टीका उम्मेदवारले सहि सत्य काम गर्न इमान र सदाचारीतामा रहन र देशको विकास र समृद्धीलाई बढाउन सक्ने छैनन् । किनकी एउटै चुनावमा करोडौँ खर्च गर्नु पर्ने अवस्थाले गर्दा इमान्दार र भद्र उम्मेदवारहरु पछि पर्दै गएका छन् तसर्थ असल राजनितिक संस्कारको लागी हामी जनतालाई सचेत गराउनको लागी नजिते पनि निर्वाचनमा सहभागी भएका हौँ ।
३. निर्वाचन जित्ने आधार के के छन् तपाईको पार्टीको ?
— कुनै पनि बस्तु सानो बाट नै ठुलो हुने हो काँग्रेस पनि स्थापना कालमा सानै थियो अहिले ठुलो भएको एमाले र माओबादी पार्टी पनि स्थापना कालमा सानै थिए । कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना हुदाँ सानै थियो । पहिलो संविधान सभाको चुनावमा माओबादी ठुलो नै थियो । यि सवै तथ्यहरुले के देखाउछ भने सहि सत्य काम गर्दै गएमा सानो पनि ठुलो हुन्छ र ढाँटछल गर्दै गएमा ठुलो पार्टी पनि सानो हुन्छ । हाम्रो पार्टी अहिलेको राजनितिक विकृती विरुद्धको नयाँ र जनपक्षिय बन्यो भने यस पटक आधार खडा भई आउँदो ५ वर्षमा सार्थक परिणाम निकाल्न सक्छ । तर नामको मात्र नयाँ र बैकल्पिक शब्दले मात्र पुग्दैन । साँच्चै नयाँ हुन मन बचन र कर्म यि तिनै चिजमा नयाँ बन्न सक्नु पर्छ । केवल बचनले मात्र नयाा भनेर हुदैन ।
४. किन नयाँ शक्ति पार्टीका उम्मेद्वारहरुलाई मत दिने जनताले ?
— नेपालको राजनीती विकृत तर्फ उन्मुख भई रहेको छ । किनकी कुनै पनि राजनीतिक पार्टीहरुले आफ्नो घोषणा र प्रतिवद्धता कहिल्यै पनि पुरा गरेको छैनन् । विकासको गती बनको फल जस्तो कसैको संरक्षण विना फल्ले गरेको छ । त्यसलाई बगैँचाको रुप दिएर सचेत प्रयत्नद्धारा संरक्षण गर्ने हो भने अत्याधिक फल उत्पादन हुन्छ । नेपालको विकासको गति समय वित्दै जाँदा आफै विकास भएको जस्तो देखिन्छ । त्यसलाई सदाचारी र राम्रो महत्वकाँक्षाको प्रयोग गरेर लाने नेता पाउने हो भने १०÷२० वर्षमा नै विकसित राष्ट्रहरु सरह पु¥याउन सकिन्छ । अन्य देशहरुमा कुनै पनि पार्टीले आफ्नो घोषणा पत्र अनुसार काम गरेन भने अर्काे चुनावमा पत्तासाफ बनाइदिन्छन् । तर हाम्रो यहाँको सामाजिक चेतना त्यस्तो देखिदैन । आफ्नो पार्टी र नेतालाई धर्म र धर्म गुरु जस्तो मान्ने चलन छ । हाम्रो सचेत प्रयत्नले जुन दिन जनताको चेतना बदलिने छ त्यस दिन यहाँ जमेको पोखरी बग्न थाल्ने छ । यही सकरात्मक राजनिति स्थापित गर्न नयाँ शक्तीका उम्मेदवारहरुलाई जनताले मत दिन आबश्यक छ ।
५. तपाईको पार्टीलाई जनताले कसरी लिएको पाउनु भएको छ ?
— पार्टी स्थापना देखी यता एउटा नयाँ सन्देश देश भर फैलिएको एउटा नयाँ सपना जनताले देख्न थालेको तर त्यो सपना त्यो सन्देश तत्कालै पुरा गर्न नसकिने जनताले प्रतिकृया दिएको हामीले पाएका छौँ । जसरी जनयुद्ध पुरा गर्न असम्भव भन्ने मानिसहरु ठान्दथे तर पनि दुख कष्टका साथ त्यसले प्रतिफल प्रदान ग¥यो । अहिले देशमा देखिएको सवै पार्टी र नेतृत्व तहमा सदाचारीताको कमीलाई कुनै न कुनै पार्टी वा ब्यक्तिको पहलमा पुरा गर्न सक्नु पर्छ भन्ने सपना जनतामा प्रवाहित भएको छ । उदाहरणको लागी लालबाबु पण्डित, गगन थापा, जनार्दन शर्मा, डा. गोविन्द केसी. डा. बाबुराम भट्टराई, रविन्द्र मिश्र जस्ता ब्यक्ति वा संस्थाको वरीपरी असल मानिसहरु झुम्मिन थालेका छन् । यो अहिलेको राजनितिक विकृती विरुद्धको संगठित रुप हो र यसले कुनै दिन सार्थक परिणाम निकाल्ने छ ।
६. चुनावी कार्यक्रमहरु अव कसरी अघी बढ्ने छ ?
— हामी हालको पुराना पार्टीहरुले प्रयोग गरि रहेका विकृत पद्धतीलाई पछ्याउन वा बढवा दिन चाहादैनौँ त्यसैले हाम्रो चुनावी प्रचार अभियान कम खर्चमा सके सक्म बढी जनताको घर दैलामा पुगेर भविष्यको लागी आफ्ना सन्तानको लागी राजनिति गर्न, मतदान गर्न, र मत दिदाँ सहि सत्यलाई आत्मा साथ गर्न अनुरोध गर्दै सामाजिक चेतना बृद्धी गर्ने प्रयत्न गर्दै छौँ । नेपालको राजनिति आधा विगारेको पार्टी र उम्मेदवारहरुको चरित्रले हो भने आधा विगारेको मतदाताहरुको चरित्रले हो भन्ने कुरा चुनावी अभियानको क्रममा भनिरहेको छौँ । जव सम्म जनताको मन र मत परिवर्तन हुदैन तव सम्म उम्मेदवारहरुको भ्रष्ट चरित्र पनि परिवर्तन हुदैन । जस्को परिणाम स्वरुप विकास र समृद्धी हुदैन । हाम्रो बुझाईमा भ्रष्टचारको जग चुनाव देखी नै बस्दछ । उम्मेदवारहरुले करोडौँ खर्च गरेर जिते पछि चुनावी खर्च उपर गर्नु स्वभाविक हो । चुनावमा जस्ले खर्च गर्छ उसलाई जिताउनु जनताको सरासर गल्ति हो । तितो सत्य यही हो । हाम्रो चुनावी कार्यक्रम यसरी नै चलिरहेको छ ।