सामाजिक कार्यमा सहकारी
Tanahun Khabar DailyNEWS
अशोक विश्वकर्मा,
कार्तिक १०, तनहुँ
झट्ट सम्झदाँ सहकारी एक नाफा मुलक संस्था हो भन्ने अधिकाँशको बुझाई रहेको छ । केही ब्यक्तिहरुले थोरै थोरै लगानी गरेर सहकारीको स्थापना गर्ने र आर्थिक कारोबार मार्फत मुनाफा प्राप्त गरेर बाँड्ने सहकारी प्रतिको बुझाईलाई दुलेगौडामा रहेको शुभकामना बहुउदेश्यीय सहकारी संस्थाले चिरेको छ ।
स्थापना देखी नै सामाजिक कार्यमा संस्थालाई समाबेश गर्दै आएको यस सहकारीले सामाजिक विकासको लागी खोलीएको संस्थाको रुपमा चिनिन सफल भएको छ ।
शुभकामना बहुउदेश्यीय सहकारीले प्रत्येक वर्ष सामाजिक स्तरमा सवैको हित हुने गरी एक न एक कार्यमा लगानी गर्दै आएको सहकारीका प्रबन्धक मूर्ति मंगल रिमालले जानकारी दिए ।
सहकारीले तनहुँकै प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिर जाने मार्गमा प्रबेशद्धार निर्माण गरेको छ भने यहाँका शैक्षिक एवं धार्मिक स्थलको भौतिक संरचना निर्माणको लागी आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
सहकारीले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिकामा रहेको शुक्लेश्वर महादेवको मन्दिर शुक्लागण्डकी च्यवन धाम निर्माणको सहयोगार्थ दश हजार, पञ्चमूनी देव माध्यामिक विद्यालयको भौतिक संरचना निर्माणको लागी दश हजार सहयोग गर्दै आएको छ भने सेती नदीको किनारमा निर्माणाधिन हिलेटार शवदह निर्माणको लागी समेत सहकारी नगद १० हजार रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले दुलगौडाको हेल्थ पोष्ट चोक नजिकैको शिव पार्वती मन्दिर प्रबेश गर्नको लागी करिव २ लाखको लागतमा प्रबेशद्धार निर्माण गरिदिएको छ । दुलगौडाका अधिकाँश स्थानियहरुका धर्मकर्ममा आस्था राख्ने तर नजिकैको मन्दिर ब्यवस्थीत नहुदाँ समस्या खेप्नु पर्ने बाध्यतालाई मुक्त गर्न अहिले मन्दिर संरक्षणमा यहाँका स्थानियहरु जुटेका छन् ।
दुलेगौडाकै गहनाको रुपमा रहेको मन्दिर क्षेत्रलाई ब्यवस्थित गर्ने कार्यमा आफ्नो सस्थालाई समेत समावेश गर्न पाउदाँ आफुहरुमा समेत खुशीको अनुभव हुने सहकारीका अध्यक्ष ऋषि बस्नेतले बताए । उनले स्थानिय स्तरबाट सकरात्मक प्रतिक्रिया आउने गरेको सुनाउदै बार्षिक रुप यस्ता कार्यक्रमले प्रभावकारी रुपमा निरन्तरता पाउने अध्यक्ष बस्नेतले जनाए ।