LOCAL
जेसीज सप्ताहन्तमा रक्तदान कार्यक्रम सम्पन्न

कार्तिक १०, दुलेगौडा
शुक्लागण्डकी जेसीजले सुरु गरेको जेसीज सप्ताहन्त कार्यक्रम अन्तर्गत विहिबार समुद्घाटन एवं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा जेसीसका सदस्यहरुसंगै यहाँका शिक्षक, ब्यापारी, पत्रकार लगायतबाट २३ पिन्ट रगत संकलन भएको जेसीजका निवर्तमान अध्यक्ष पूर्ण कायस्थले जानकारी दिए ।
सकरात्मक परिवर्तनको लागी युवा भन्ने नाराको साथमा शुक्लागण्डकी जेसीजले ३ दिन सम्म मनाउने जेसीज सप्ताहन्त कार्यक्रममा बोल्दै रेडक्रस दुलेगौडाका अध्यक्ष प्रेम प्रसाद लालचनले जेसीज समाजको विकासको लागी आवश्यक संस्था भएको उल्लेख गरे लालचनले जेसीजहरु नितान्त रुपमा आफ्नो आम्दानीको केही अंश युवाहरुको सम्वन्ध विकास र सामाजिक कार्यमा लगाउने संस्था भएकाले पनि जेसीजलाई समाजले सकरात्मक रुपमा लिनु पर्ने बताए ।
यता शुक्लागण्डकी नगरपालिका वडा न ४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले युवाहरु सम्मीलित यस्ता संस्थालाई समाजले राम्रो सँग बुझ्न नसकेकोमा जोड दिदै युवाहरुमा देखिने बेरोजगारी, कुलत लगायतलाई निर्मूल पार्दै यस क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासको लागी जेसीजले सञ्चालन गरेको कार्यक्रम प्रशंसा योग्य रहेको बताए ।
शुक्लागण्डकी जेसिज वर्ष २०१७ का अध्यक्ष विनोद राउतले सामाजको विकासको लागी युवा नेतृत्वको विकल्प नभएको जोड दिदै युवाको जोश र संस्थागत निर्णयको समिश्रणले सकरात्मक विकास सम्भव रहेको दावि गरे ।
कार्यक्रममा सहभागी अधिकाँश रक्तदाताहरुले रक्तदान गर्नाले रगतको अभावमा कसैको पनि अकालमा मृत्यु नहुने भएकाले यस्ता कार्यक्रमहरु बेला बेलामा भै रहनु पर्ने बताए । साथै रक्तदाताहरुले रक्तदानमा सहभागी हुन पाउँदा खुशीको महशुष गरे ।
जेसीजले सप्ताहन्त कार्यक्रम अन्तर्गत आज जि.पि. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका विरामीहरुलाई फलफुल वितरण गरिएको छ भने तथा दिउंसो दुलेगौडाको पञ्चमूनी देव माध्यामिक विद्यालयका विद्यार्थीविच बक्तृत्वकला प्रतियोगिता सम्पन्न हुने छ ।