तनहुँमा ठूला नेताको भाले भिडन्त

Tanahun Khabar Daily

LOCAL

कार्तिक १, तनहुँ । कांग्रेसहरुको बलियो क्षेत्र मानिएको तनहुँको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल रिक्स जोनमा छन् । वामपन्थी गठवन्धनले पौडेललाई सकस पार्ने त देखिन्छ नै, स्वंय कांग्रेस तनहुँभित्र मच्चिएको हुण्डरीले गर्दा पौडेल असुरक्षित बन्दै गएको देखिएको छ ।

साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन क्षेत्र भएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै विजयी बन्दै आएका छन् ।

विगतमा आफैंले छाडेको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ बर्षपछि फर्कन लागेका हुन् । पौडेलले छाडेपछि उनको विरासत कांग्रेसकै नेता गोविन्दराज जोशीले सम्हाल्दै आएका थिए । जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते पनि ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी तेस्रो भए । अकुत सम्पती आर्जन गरी भष्ट्राचार गरेको अभियोग जोशीमाथि लागेपछि उनको राजनीतिक जीवन र यात्रा स्खलित बन्दै गयो ।

जोशीलाई एकातिर भष्ट्राचारको अभियोग लाग्यो, अर्को्तिर उनी निर्वाचनमा पराजित भए । यही मौकामा पौडेल तनहुँको राजनीतिमा हावी भए । जिल्लाको राजनीतिमा पौडेल हावी भए पनि केन्द्रीय राजनीतिमा भने उनलाई पराजयले पछ्यायो । १७÷१७ पटकसम्म प्रधानमन्त्रीको लिगलिगे दौडमा पराजित बनेका पौडेल महाधिवेशनमा पार्टी सभापतिमा पराजित बने ।

युवा नेतृत्व फस्टाएन

अहिले तनहुँ जिल्लामा कांग्रेसका यिनै दुई नेताको टकराव र एकलौटी हैसियतका कारण नयाँ क्षमतावान युवाहरु राजनीतिको केन्द्रमा आउनै सकेका छैनन् । विद्यार्थी राजनीतिबाट केन्द्रीय सदस्य बनेका प्रदिप पौडेलबाहेक जिल्लाबाट राजनीतिक गर्नेहरुको तगारो यिनै दुई नेताहरुलाई मान्ने गरिएको छ कांग्रेसवृत्तमा । अहिलेसम्म गठन भएका अधिकांश मन्त्रिमण्डलमा तनहुँका कांग्रेसी नेताहरु मन्त्री नभएको सायदै सुनिन्छ । तर, पौडेल र जोशीले पनि जिल्लाको विकासमा माखो मार्न नसकेको आरोप लाग्दै आएको छ ।

आगामी चुनावमा टकराव

यी ठूला नेताको भाले भिडन्त यसपटक पनि तनहुँमा राम्रैसँग देखिने भएको छ । काँग्रेस तनहुँका नेताहरुले बरिष्ठ नेता पौडेललाई कि समानुपातिकमा बस्न वा तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न सुझाव दिइरहेका छन् । तर, पौडेलले भने एमालेको पकड रहेको क्षेत्र नम्बर २ भन्दा १ लाई नै सुरिक्षत मानेका छन् ।

पौडेल आफैं टिकट दिने ठाँउमा भएका कारण उनले तनहुँ १ रोज्ने पक्कापक्की छ । यो कुरा बुझेर नै कांग्रेस नेता जोशीले आना कार्यकर्ताहरुलाई सदरमुकाम दमौलीमा उतारेर प्रर्दशन गरिसकेका छन् ।
यतिले मात्रै कांग्रेसको किचलो सकिनेवाला छैन । कांग्रेसका नेता एवम् क्षेत्र नं १ का निवर्तमान सांसद शंकर भण्डारी, गोविन्द भट्टराई जस्ता नेताहरु पनि यसै थन्किनेवाला छैनन् ।

दुई ठूला दल एमाले र माओवादीको वाम गठवन्धनबाट कांग्रेस तनहुँमा रक्षात्मक बन्ने प्रस्ट देखिएको छ । स्थानीय तहको मतपरिणामका आधारमा विष्लेषण गर्दा तनहुँ १ र २ दुवै निर्वाचन क्षेत्रमा कांग्रेस रक्षात्मक देखिएको छ ।
तनहुँको निर्वाचन क्षेत्र नं १ मा वाम गठवन्धनले स्थानीय तहमा प्राप्त गरेको मत कांग्रेसको भन्दा २०९२ बढी देखिन्छ । यस्तै क्षेत्र नं २ मा वाम गठवन्धन कांग्रेसभन्दा ६८११ मतले अगाडि छ ।

कांग्रेसका नेता शंकर भण्डारी र गोविन्द भट्टराईले समेत टिकटका लागि आ–आना गोटी चलाइरहेका छन् । उनीहरु दुबै केन्द्रीय सदस्य भएकाले नेतृत्व दबावमा छ । भण्डारी खुमबहादुर खड्को कोटाबाट वनमन्त्री भैसकेका व्यक्ति हुन् । भण्डारीले काँग्रेसले टिकट वितरणमा ध्यान पु¥याएन भने दुबै क्षेत्र गुमाउनुपर्ने चेतावनी दिएका छन् ।

भण्डारीले बरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न सुझाव दिँदै आएका छन् । पौडेल २ मा गए १ बाट आफूले टिकट पाउने उनको भनाइ छ ।

टिकट नपाए बिद्रोह–जोशी

नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफूलाई सांसदको टिकट नदिइए बिद्रोह गर्ने चेतावनी दिएका छन् । उनले आफू समानुपातिक सूचिमा नबस्ने अडान लिएका छन् । गत स्थानीय निर्वाचनमा आनो पक्षबाट कसैले पनि टिकट नपाएको भन्दै नेता जोशीले यस पटक तनहुँ क्षेत्र नम्बर १ बाट आफूले टिकट पाउनुपर्ने दाबी गरेका छन् ।

जोशीले आफूले प्रतिनिधिसभामा टिकट नपाए नेपाली काँग्रेसलाई हराइदिने धम्की दिँदै हिडेका छन् । कांग्रेसको केन्द्रीय नेतृत्वका लागि जोशी र पौडेलको द्वन्द्व मिलाउन नै महाभारत हुने देखिएको छ । जोशीले कांग्रेसका जिल्ला नेताहरुलाई नै साक्ष्ी राखेर पौडेल क्याम्पसलाई ध्वत पारिदिने चेतावनी दिएका थिए ।