भाइको चिठ्ठी दिदीलाई
Tanahun Khabar DailyINTRESTING
प्यारी दिदी,
अर्थोक केही गर्न नपाए पनि, सुदुर देशमा बसेर, यसपालीको तिहारमा पनि तिमीलाई खूब सम्झेको छु ।
भौगोलिक दुरी जतिसुकै टाढा किन नहोस् ? माया त आफ्नै शरीरमा भएको छातीभित्रै रहिरहने रैछ । चार बर्ष भएछ, तिमीसँग भेट हुन नपाएको । आजकाल तिहार केवल सम्झनामा मात्र सीमित हुन थालेको छ । फेसबुक, स्काइप र आक्कलझुक्कल सपनामा मात्र छ्यौ तिमी ।
सुदुर देशमा आएर पाएको के छु ? हिसाबकिताब गर्न मन लाग्दैन । गुमाएको के छु ? आँकडा साध्य छैन । बाल्यकालमा तिमीसँग बितेका हरेक तिहारहरुलाई सम्झँदै धीत मार्नु र टीकाको दिन फेसबुकमा दुनियाले हालेको फोटोहरु हेरेर एकपल्ट तुरुक्क आँशु चुहाउनु मेरा बिगतका चारवर्षे तिहारका बाध्यता हुन् ।
साँच्ची ! कत्ति रमाइलो हुन्थ्यो हगि हाम्रो गाउँको तिहार ? हामी दुवैलाई दशैँभन्दा पनि तिहार मन पथ्र्यो । तिमी महिनौ अगाडीदेखि तिहारलाई भन्दै सयपत्री र मखमलीको बीउ छथ्र्यौ । करेसाबारी भरि फुलेको सयपत्री मेरो भाइलाई भन्दै साँच्थ्यौ । सयपत्री त्यसबेला करेसाबारीमा भन्दा तिम्रो मुहारमा फुलेको देख्थेँ । भैली खेल्न जाने बेलामा म तिम्रो पछिपछि लाग्थेँ । मेरो केटाकेटीपना—एकपटक तिमीहरु भैली खेल्न जाँदा, तिम्रो जामा चोरेर लगाइ पछिपछि लागेको थिएँ । तिमी र तिम्रा साथीहरु मिलेर कम्ती जिस्काएका थिएनौ मलाई ! रातभरि भैलो खेलेर कमाएको पैसा भाइको लागि भनेर छुट्याउँथ्यौ । मलाई मन पर्ने मिठाइहरु, अनि मेरै रोजाइकै लुगा किनिदिन्थ्यौ । बरु म नालायक ! तिम्रो लागि भनेर आमाले दिनुभएको दक्षिणाको पैसामाथि पनि भ्रष्टाचार गर्थेँ । तिमीले कहिल्यै गुनासो गरिनौ ।
दिदी, तिमी मेरी दिदी मात्र थिइनौ । आमा थियौ । गुरु थियौ । साथी थियौ । कसरी सहन सकौँ त प्रत्येक तिहारमा यति धेरै व्यक्तित्वकी धनी तिमी सँगै हुन नपाउँदा । कसैसँग झगडा परे सबभन्दा पहिले आएर तिमीलाई सुनाउँथेँ । म स्कूल जाने बेलामा मेरो कपालमा चिपिक्क तेल लगाएर कोरिदिने तिमी थियौ । मेरो स्कूलमा गएर फिस तिर्दिने पनि तिमी थियौ । म्याथमा फेल हुन्थेँ । मलाई म्याथ सिकाएर पास गराउने तिमी नै थियौ । मलाई कसैले केही भने झगडा गर्ने पनि तिमी । तिमीले आफूलाई कहिल्यै सानी बनाएनौ जब मसँग हुन्थ्यौ । सधैँ परिपक्वझैँ, प्रौढझैँ भएर आफूलाई प्रस्तुत ग¥यौ । मलाई पनि केही कुराको डर लाग्दैनथ्यो, जब म तिमीसँग हुन्थेँ ।
त्यहाँ सयपत्री फुलेका होलान्, म यहाँ ओइलाएको छु । सबैतिर झिलिमिली होला, म पुरै निभेको छु । मनमा चर्को लोडसेडिङ्ग जो छ । सबैले निधारमा इन्द्रेणी टाँसेर हिँडेका होलान्, म फिक्का फिक्का छु । गलामा सयपत्री र मखमली झुण्ड्याएर हिँडेका होलान्, म फगत परिचयपत्र झुण्ड्याएर ड्युटी जाँदै छु । चोक चोकमा मादल घन्किएको हुँदो हो । तन्नेरीहरु देउसी र भैलो खेल्न जाने तयारी गर्दै होलान्, म भने ड्युटी जाने तयारी गर्दैछु ।
रहरहरु ओखरजस्तै फुटे । छिनमै उज्यालिन्छन् आशाहरु झिरझिरेजस्तै अनि छिनमै निभिजान्छन् । किन बलिरहन सक्तैनन् दियोजस्तै ती आशाहरु ? किन मखमलीजस्तै नओइलाइ बस्न सक्दैनन् खुसीहरु ?
मिस गरिरहेछु दिदी तिमीले पकाएको सेलरोटीको गन्ध । मिस गरिरहेछु तिम्रो कोमल हातले श्पर्श गरेको मेरो खाली निधार । खूब मिस हुन्छन्, देउसी खेल्न जाने साथीहरु । मोबाइलको रिंङ्गटोन सुनेर चित्त बुझाउनुपरेको छ देउसी रे को धुन । तिहारका पुराना फोटो हेरेर हाँस्छु, क्षणभरलाई भएपनि । चारबर्ष अगाडी खिचिएको तिमीसँगको फोटोलाई हरेक साल यसैपालीको हो झैँ पारेर फेसबुकमा पोष्ट गरेर आत्मरतीमा रमाउने गरेको छु । मेरी दिदी, तिमी मलाई पूजा गर्दा, यमराजलाई त मरिगये लानै दिन्न भनेर भन्थ्यौ । तर खै, यमराजले नलगेपनि त्यस्तै अर्थोक के ले हो, तानेर, अझ चुँडाएरै लगेछ तिमीबाट । चाहेर पनि फर्कन नसक्नेगरी ।
सायद, देशै छाडेर जानुको सजाय भोग्नु परेको हुँदो हो । मलाई माफ गर मेरो देश । माफ गर मेरी दिदी । यसपालीको तिहारमा पनि म आउन सकिनँ है !