कार र मोटरसाइकल ठोक्किदा दुई घाइते

Tanahun Khabar Daily

LOCAL

दमौली ३१ असोज । व्यास नगरपालिका वडा नं १ गल्बुवेशी स्थित छाब्दी चोकमा मंगलबार दिउँसो कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा यात्रारत दुई जना घाइते भएका छन् ।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा १६ त ६८११ नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको ग ९ प ७४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ सो दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । अहिले घटना स्थलमा प्रहरी पुगेर घटनाका अनुसन्धान गरिरहेको छ । दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ भने मोटरसाइकल समेत क्षतिग्रस्त हुन पुगेको छ ।यसैबीच उक्त दुर्घटना स्थलमा छरपस्ट रुपमा मासु देखिदा प्रत्यक्ष दर्शीको होश हवाश उडेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको शरीरबाट मासु निस्किएको भन्दै प्रत्यक्षदर्शीहरु उद्धार गर्न जान समेत डराएका थिए ।तर घटनास्थलमा छरपस्ट भएको मासु मोटरसाइकलमा झोलामा राखेर ल्याएको र ठोक्किदाँ छरपस्ट हुन पुगेको घटनास्थल अवलोकन गर्दा थाहा हुन आएको छ ।